कैदी मृत्यु घटनामा प्रहरी नायब निरीक्षक पक्राउ
काठमाडौं । जिल्ला कारागार कैलालीका प्रहरी नायब निरीक्षक (सइ) हरजित नाथ पक्राउ परेका छन्।कारागारमा कैद भुक्तान गरिरहेका डडेल्धुराको भागेश्वर गाउँपालिकाका २८ वर्षीय हरिसिंह पालीको मृत्यु भएपछि जिल्ला प्रहरी कार्यालय कैलालीले सइ नाथलाई पक्राउ गरेको हो।
बिहीबार मृतक पालीकी श्रीमती जानकी साउदले प्रहरीको कुटाइबाट आफ्ना श्रीमानको हत्या भएको भन्दै किटानी जाहेरी दिएकी थिइन्। उक्त जाहेरीको आधारमा उनलाई पक्राउ गरेर अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजकुमार सिंहले बताए।
जिल्ला अदालत कैलालीबाट बैंकिङ कसुरमा दोषी ठहर भई दुई लाख रुपैयाँ जरिवाना र १० दिन कैद सजाय भएका पालीलाई जिल्ला प्रहरी कार्यालय डडेल्धुराले २९ जेठमा पक्राउ गरेको थियो । कैलाली प्रहरीले उनलाई १ असारमा जिल्ला अदालतमा बुझाएको थियो । बैंकिङ कसुरको मुद्दा सइ नाथले दिएका थिए ।
जिल्ला कारागारमा रहेका पालीको २ असार राति सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो । प्रहरीको कुटपिटबाट हत्या भएको परिवारको आरोप छ ।