राजनीतिमा वैकल्पिक शक्तिका रुपमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी यता न उता ?

रास्वपा मुलुकको राजनीतिमा वैकल्पिक शक्तिका रुपमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी अहिले भने यता न उताको अवस्थामा छ । पुराना पार्टीका गतिविधिले वाक्कदिक्क भएका जनताले केही नयाँ स्वाद चाख्न पाइन्छ कि भनेर रास्वपालाई अमूल्य मत दिएका थिए।

बारम्बार पुराना दललाई मत हाल्दा परिवर्तनको महसुस नगरेपछि रास्वपालाई जनताले मत खसाले । हुनपनि स्थापना कालको केही महिनामै रास्वपाले उल्लेख्य मत हाँसिल ग¥यो ।

रास्वपाले जनताको असन्तुष्टिलाई आफूतिर आकर्षित त ग¥यो तर, त्यसको सदुपयोग भने गर्न सकेन । रवि लामिछानेले सञ्चारकर्ममा देखाएको सक्रियतालाई पार्टीमा लगानी गरेका थिए ।

उनले मुलुकमा परिवर्तनको झल्को दिनेगरी पार्टीको स्थापना गरेपनि त्यो पूरा हुन सकेको छैन । मुलुक र जनताको अवस्था बदल्ने संकल्प बोकेर राजनीतिमा होमिएका लामिछानेले छोटो अवधिमा राम्रै उपलब्धि हाँसिल गरे ।

त्यो उपलब्धि केवल उनको व्यक्तिगत मात्र थियो । राजनीतिमा आएपछि लामिछानेले नेपाल सरकारको महत्वपूर्ण मालदार मन्त्रालयको नेतृत्व गर्न पाए । दुई दुईपटक मुलुकको उपप्रधान एवम् गृहमन्त्रीमा रवि लामिछानेले राम्रै पकड जमाए । तर, उनले जनताको अवस्था बदल्नेगरी कुनै काम अघि बढाउन सकेनन् ।

पहिलो गासमै ढुंगा भनेझैं सत्तास्वादमा रमाउन खोज्नु रास्वपाको महाभूल भयो । जनताले रास्वपालाई सत्तामा जानु भनेर जनमत दिएका थिएनन्। बरु सत्तामा बस्नेहरुलाई खबरदारी गर भनेर जनमत दिएका थिए । रास्वपाले जनमतको कदर नभइ अवमूल्यन गर्दै सत्ताको कुर्सी पछ्याउन थाल्यो ।

त्यसमा पनि मुलुक र जनतालाई फाइदा हुनेभन्दा पनि व्यक्तिगत फाइदा हुने गतिविधिमा रास्वपा बढी केन्द्रित भयो । स्वयम् सभापति रवि लामिछानेले नै स्वार्थ बाँझिने मन्त्रालयको नेतृत्व लिए । त्यसपछि रास्वपाप्रति बढिरहेको केही क्रेज घट्दै जान थाल्यो ।

रास्वपा पार्टी रवि लामिछानेको लोकप्रियताकै कारण मुलुकको राजनीतिमा स्थापित भएको थियो । यसमा कुनै दुईमत नै छैन । यो पार्टीभित्र प्राज्ञिक र बौद्धिक व्यक्तिहरुको पनि बोलवाला थियो ।

यी सबै हुँदाहुँदै पनि यो पार्टीले जनताका मुद्दामा देखिने र सुनिनेगरी कुनै काम गर्न सकेको छैन । शक्तिका हिसाबले मुलुककै चौथो ठूलो दलका रुपमा स्थापित छ ।

संख्याको हिसाबले हेर्ने हो भने संसदमा पार्टीको २० सिट छ । २१ सिटमध्ये पार्टी सभापतिको पद यतिबेला निलम्बनमा छ । सरकारलाई दबाब दिन यो पर्याप्त सिट हो । तर, रास्वपाको खबरदारी तरिका प्रभावकारी रुपमा भएको देखिदैन।

मुलुक र जनताका मुद्दा उठान गर्ने बचनसहित उदाएको रास्वपाले बाटो बिराउदै जान थालेको छ। मुलुक र जनताभन्दा व्यक्ति बचाउको मुद्दा बढी हाबी हुँदा पार्टीको भविष्य अन्योलमा पर्न थालेको छ। सहकारी प्रकरणमा मुछिएका पार्टी सभापति यतिबेला कारागारमा छन्।

उनी पक्राउ परेपछि रास्वपाले देशव्यापी आन्दोलन अघि बढायो । देशका विभिन्न सहकारीमा सामान्य मानिसले दुखजिलो गरेर जम्मा गरेको रकम हिनामिना गरेपछि पार्टी सभापति लामिछाने कानुनको कठघरामा उभिएका थिए । तर, सत्य, तथ्यलाई समेत बेवास्ता गर्दै रास्वपा नेताहरु लामिछानेको बचाउमा उत्रिन थाले ।

लामिछाने दोषी या निर्दोष भन्ने कुरा कानुनले तोक्नुपर्नेमा रास्वपा नेताहरु आफैं तोक्दै हिँड्न थाले । तथ्य र प्रमाणले रवि लामिछानेलाई दोषी देखाउँदा देखाउँदै पनि रास्वपा नेताहरुले निर्दोष भएको दाबी गर्दै हिँडिरहे ।

हाल उनी कारागारमा चलान भएपछि रास्वपाको सभापति बचाउ आन्दोलनले विश्राम लिएको छ । जनताको मुद्दा उठान गर्ने संसदलाई रास्वपाले पार्टीको प्रतिशोध साँध्ने हतियार बनाइरहेको छ । गृहमन्त्री रमेश लेखक भिजिट भिसा काण्डमा मुछिएको भन्दै रास्वपाले निरन्तर सदन अवरोध गर्दै आइरहेको छ ।

यसका पछि रास्वपाको राजनीतिक प्रतिशोध बाहेक अरु केही देखिदैन । किनकि पार्टी सभापति रवि लामिछाने सहकारीमा मुछिएदेखि नै कानुनी कठघरामा उभ्याउन रमेश लेखकको ठूलो हात छ ।

सो बदला लिन रास्वपाले नक्कली उजुरी खडा गर्नेदेखि संसद अवरोध गर्नेसम्मका हर्कत गरिरहेको छ । जबकि अहिले बजेटको विषयमा व्यापक रुपमा छलफल हुनुपर्ने अवस्था हो । तर, रास्वपाले निरन्तर बैठक अवरोध गर्दै आइरहेको छ ।

यो अवरोध रास्वपाका लागि वरदान नभइ अभिशाप बन्दैछ । किनभने यही मुद्दामा साथ दिएको नेकपा माओवादी केन्द्रले रास्वपाको साथ छोडिसकेको छ ।

रास्वपा भने गृहमन्त्रीलाई गलाउन सकिन्छ कि भनेर दाउ हेरेर बसिरहेको छ । तर, त्यो केवल दिवासपना मात्र हुनेछ । यसरी हेर्दा वैकल्पिक शक्तिका रुपमा उदाएको रास्वपा छोटो समयमा नै अलमलमा पर्नु बिडम्बनाको विषय हो ।

नयाँ नेतृत्व र दलप्रति जनताको जति आकर्षण बढेको थियो त्यसलाई रास्वपाले सदुपयोग गर्न सकेन । अब जति आश्वासन दिएपनि जनताले पत्याउने छैनन् । रास्वपा र नेतृत्वले दिने आश्वासन जनताका लागि केवल झुट सावित हुने खतरा बढेको छ ।