रास्वपाको अभिलेखमा मुकुल ढकाल नै महामन्त्री

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को हालसम्मको अभिलेखमा डा.मुकुल ढकाललाई नै महामन्त्रीको रूपमा मान्यता दिएको छ । आयोगका अनुसार, रास्वपाको केन्द्रीय समिति र सदस्यहरूको विवरण १५ महिनाअघि अद्यावधिक भएको थियो र त्यसयता कुनै परिवर्तन भएको छैन ।

गत बुधवार, रास्वपाबाट कारबाहीमा परेका डा।मुकुल ढकालले आयोगमा पार्टीको अभिलेख अद्यावधिक भएरनभएको बारे सूचना माग गर्दै निवेदन दिएका थिए । सो निवेदनको जवाफमा, आयोगको कानुन तथा राजनीतिक दल व्यवस्थापन महाशाखाकी शाखा अधिकृत उषा गजमेरले २० चैत, २०८० यता रास्वपाको कुनै विवरण अद्यावधिक नभएको पत्र लेखेकी थिइन् ।

२० चैत, २०८० मा आयोगको बैठकले रास्वपाको विधानको दोस्रो संशोधनलाई अभिलेखीकरण गरेको थियो । त्यसबेला केही पदहरू हेरफेर भएका थिए । जसअनुसार, रवि लामिछाने सभापति, डोलप्रसाद अर्याल उपसभापति, स्वर्णिम वाग्ले दोस्रो उपसभापति र डा.मुकुल ढकाल महामन्त्री तथा प्रवक्ता (चौथो बरियतामा) थिए । सोही समयमा तीन सहमहामन्त्री, एक कोषाध्यक्ष, दुई सहकोषाध्यक्ष र तीन प्रवक्ताको जिम्मेवारी पनि थपिएको अभिलेखमा उल्लेख छ ।

आयोग स्रोतका अनुसार, त्यसयता रास्वपाको कुनै पनि विवरण अद्यावधिक भएको छैन । रास्वपाले ढकाललाई कारबाही गरी निष्कासन गरेको दाबी गरे पनि आयोगको अभिलेखमा त्यस्तो कुनै जानकारी छैन । त्यस्तै, सांसद सुमना श्रेष्ठले सहमहामन्त्रीको जिम्मेवारी त्यागेको भए पनि सो विवरण पनि आयोगमा अद्यावधिक भएको छैन।