कारागारबाट रविको अपिल: ‘मलाई सिध्याउन भयानक षड्यन्त्र रचे’
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा० का सभापति रवि लामिछानेले भैरहवा कारागारबाट २० पेजको अपिल जारी गर्दै आफूविरुद्ध नियोजित षड्यन्त्र रचिएको आरोप लगाएका छन् । पार्टी स्थापना दिवसमा जारी अपिलमा उनले आफूमाथिका आरोपलाई खण्डन गर्दै यो घटनाक्रमलाई राष्ट्रप्रेमी र नयाँ सोच बोकेका नेताहरूलाई सिध्याउने योजनाको हिस्सा भनेका छन् ।
लामिछानेले बेथितिविरुद्ध आवाज उठाएको मूल्य तिरिरहेको बताउँदै आफू विचलित नभएको उल्लेख गरे । उनले भने, ‘रास्वपाबिनाको प्रतिनिधिसभा कल्पना गर्न सकिँदैन । जनताका होनहार छोराछोरीको संसद्मा उपस्थितिलाई स्वीकार गर्न किन गाह्रो परेको छ रु बेथिति भत्काउन लल्कार्नुपर्छ, निवेदनले हुँदैन। यो आँटका कारण ठगहरूले मलाई नै ठग साबित गर्न षड्यन्त्र रचेका छन्, तर म हल्लिएको छैन ।’
उनले आफ्नो नेतृत्वमा सरकारमा रहँदा कुनै मन्त्रीमाथि भ्रष्टाचार, नातावाद वा अनियमितताको आरोप नलागेको दाबी गरे । ‘सत्तालोलुप भन्नेहरूलाई भन्छु, मैले प्रधानमन्त्रीको प्रस्ताव ठुकराएँ । कांग्रेस नेतृत्व मध्यरातसम्म मेरो हस्ताक्षर कुरेर बस्यो, मैले मानेनँ। भोलिपल्टदेखि मलाई सहकारी ठग भन्न थालियो,’ उनले भने ।
लामिछानेले सहकारी छानबिन संसदीय समितिको प्रतिवेदनले आफ्नो संलग्नता पुष्टि नगरेको, तर रकम खर्चको दायित्वमा कम्पनी ऐनअनुसार कारबाही गर्नुपर्ने उल्लेख गरेको बताए । तर, सरकारले सहकारी ऐनको दफा प्रयोग गरी झुटा मुद्दा लगाएको उनको आरोप छ । ‘यो राजनीतिक पूर्वाग्रह र प्रतिशोध हो,’ उनले प्रश्न गरे । लामिछानेले आफू विद्रोही भएको बताउँदै जनमतको कदर गर्दै बेथिति अन्त्यको सङ्कल्प दोहोर्याए ।