विदेशी नागरिकता लिएकालाई नेपाली नागरिकता दिन सकिँदैन: सभापति देउवा
काठमाडौं। नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले विदेशको नागरिकता लिइसकेका व्यक्तिहरूलाई नेपाली नागरिकता प्रदान गर्न नसकिने स्पष्ट पारेका छन्।
शनिवार ललितपुरमा आयोजित सुगौली सन्धि र नेपालमा नागरिकता सम्बन्धी पुस्तक विमोचन कार्यक्रममा सम्बोधन गर्दै उनले यस्तो बताए।
ब्रिटिश गोरखा सैनिकहरूले नेपाली नागरिकताको निरन्तरताको माग राख्नु स्वाभाविक भए पनि विदेशको नागरिकता लिइसकेकालाई नेपाली नागरिकता दिन नसकिने देउवाको भनाइ छ।
उनले भने,विदेशको नागरिकता लिइसकेकालाई नेपाली नागरिकता दिन सम्भव छैन । तर, अन्य सुविधाका लागि एनआरएन नागरिकता प्रदान गर्न सकिन्छ । हाम्रो जस्तो सानो देशमा यो विषय जटिल छ। नागरिकताबारे छलफल जारी छ । नेपाल फर्किन चाहनेलाई सधैँ स्वागत छ।
देउवाले ब्रिटिश गोरखा सैनिकहरूको मागबारे संसदीय समितिमा छलफल भइरहेको र चाँडै निष्कर्ष निस्कने बताए । उनले भने, ‘ब्रिटिश गोरखा सैनिकहरूले बेलायती सैनिकसरह सेवा–सुविधा पाउनुपर्छ भन्ने नेपालको अडान स्पष्ट छ।
उहाँहरूको नागरिकता निरन्तरताको मागबारे राजनीतिक दलहरूबिच छलफल चलिरहेको छ। एनआरएन नागरिकताको अवधारणालाई पनि ध्यानमा राखेर समाधान खोजिनेछ।