नागरिकको विद्युत् महशुल गाउँपालिकाले तिरिदिने

दाङ। शान्तिनगर गाउँपालिकाले पालिकाबासीको विद्युत् महशुल तिर्ने भएको छ। पालिकाले मङ्गलबार सार्वजनिक गरेको आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम एवं बजेटमा पालिकाबासीको न्यूनतम विद्युत् महसुल तिरिदिने घोषणा गरेको हो।

पालिका अध्यक्ष प्रमोद बस्नेतका अनुसार न्यूनतम २० युनिटसम्मको विद्युत् महशुल पालिकाले तिरिदिने भएको हो। ‘पालिकाबासीको मागका आधारमा यो नीति ल्याएका हौँ, यो लुम्बिनी प्रदेशकै नयाँ कार्यक्रम हो’, अध्यक्ष बस्नेतले भने।

‘शान्तिनगर बासीको रहरः उज्यालो शान्तिनगर’ अभियान स्वरुप यो नीति ल्याएको उनले बताए। शान्तिनगर गाउँपालिकाका सम्पूर्ण ग्राहकको न्यूनतम शुल्क गाउँपालिकामार्फत नेपाल विद्युत् प्राधिकरणमा रकम दाखिला गर्ने व्यवस्था मिलाउने नीतिमा समावेश गरिएको छ। यसले सबै नागरिकको उर्जामा पहुँच पुग्ने अपेक्षा लिएको अध्यक्ष बस्नेतले बताए।