राजनीति सुधार्ने दाबी गर्दै आएको रास्वपाको अदालतमाथि नै अविश्वास,चुनौती दिने हस्ताक्षर अभियान सञ्चालन

काठमाडौं। राजनीति सुधार्ने दाबी गर्दै नेपाली राजनीतिक क्षेत्रमा प्रवेश गरेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले फेरि पुरानै राजनीतिक शैली अपनाएको भन्दै आलोचना झेल्नुपरेको छ। फोहोरी राजनीतिको विकल्पको रूपमा आफूलाई प्रस्तुत गरेको यो पार्टीले आफ्ना सभापति रवि लामिछानेको हिरासतपछि परम्परागत राजनीतिक दलहरूले अपनाउने रणनीति नै अपनाएको भन्दै राजनीतिक विश्लेषकहरूले टिप्पणी गरेका छन्।

सभापति लामिछानेलाई हिरासतमा लिने र हिरासत सार्ने क्रममा प्रहरीको व्यवहारलाई लिएर पार्टीले उठाएको प्रश्नहरू उचित हुन सक्छन्। यस्तै, उच्च अदालतको फैसलामा भएको कपी पेस्टका विषयमा पनि प्रश्न उठ्न सक्छ।तर पार्टीले देखाएको आचरणले भने यसका संस्थापकहरूले गरेका प्रतिबद्धताहरूमाथि नै प्रश्न खडा गरेको छ।

रास्वपाको राजनीतिक आचरणमा देखिएको मुख्य समस्या भनेको न्यायालयका फैसलाहरूप्रति दोहोरो मापदण्ड अपनाउने प्रवृत्ति हो। आफ्नो पक्षमा फैसला आएमा न्याय जीवित रहेको भन्ने र विपक्षमा आएमा भिडको सहारा लिने यो प्रवृत्ति नेपाली राजनीतिमा लामो समयदेखि देखिँदै आएको छ। रास्वपाले पनि यही बाटो रोजेको भन्दै आलोच हुन थालेकाे छ।  

यसको ताजा उदाहरण भनेको पार्टीले आफ्नो तेस्रो स्थापना दिवसदेखि सुरु गरेको हस्ताक्षर अभियान हो। राजनीतिक प्रतिशोधविरुद्ध भन्दै सुरु गरिएको यो अभियानलाई राजनीतिक दबाब सिर्जना गर्ने उद्देश्यले गरिएको भन्दै विपक्षी दलहरूले आरोप लगाउने गरेका छन्। यो अभियान नै पार्टीले अपनाएको परम्परागत राजनीतिक रणनीतिको प्रमाण हो भन्ने मत पुराना राजनीतिक दलहरूले नै बताउने गरेका छन्।

नेपाली राजनीतिमा नयाँ शैली ल्याउने र भ्रष्टाचारविरुद्ध लड्ने भन्दै मतदाताहरूको भरोसा जितेको रास्वपाले देखाएको यो आचरणले जनताको अपेक्षामा ठूलो धक्का दिएको छ। पार्टीले राजनीति सुधार्ने भन्दै गरेका वाचाहरू पूरा गर्न नसकेको भन्दै पार्टीका केही समर्थकहरू नै निराश बन्दै गएका छन्।

राजनीतिक विश्लेषकहरूका अनुसार, कुनै पनि राजनीतिक दलले आफ्ना नेताहरूलाई बचाउन चाहेमा कानुनी बाटो अपनाउनुपर्छ। तर भिडको सहारा लिने र जनमत निर्माण गर्ने पुरानै तरिका अपनाएर रास्वपाले आफ्नो छवि बिगारेको छ।यसले नेपाली राजनीतिमा सुधारका लागि उठेका आवाजहरूलाई पनि कमजोर बनाएको छ।

पार्टीले अब आफ्ना गल्तीहरूबाट सिक्दै वास्तविक राजनीतिक सुधारका लागि काम गर्नुपर्ने आवश्यकता रहेको राजनीतिक विश्लेषकहरूले बताएका छन्।अन्यथा, राजनीति सुधार्ने दाबी गर्दै आएको यो पार्टी पनि अन्य परम्परागत दलहरूको जस्तै बन्ने खतरा रहेको उनीहरूको भनाइ छ।