सुमिरे ट्राभल्सविरुद्ध अर्बौं रुपैयाँ ठगी र मानव तस्करीको आरोप,प्रहरीले सुरु गर्यो अनुसन्धान
रनसुर महतारा (रमेश)
काठमाडाैं। सुमिरे टुर एन्ड ट्राभल्सले जापानमा भिजिट भिसाका नाममा हजारौं नेपालीहरूबाट अर्बौं रुपैयाँ लिएर ठगी गरेको गम्भीर आरोप लागेपछि नेपाल प्रहरीले औपचारिक अनुसन्धान सुरु गरेको छ। मानव बेचविखन ब्युरोले यस मामिलामा चासो राखेको जनाएको छ।
प्रतिनिधि सभामा ओखलढुंगाका सांसद रामहरि खतिवडाले असार १४ गते यो आरोप सार्वजनिक गरेपछि यो विषय राष्ट्रिय चर्चामा आएको हो। खतिवडाले राष्ट्रिय स्वतन्त्र पार्टीलाई लक्षित गर्दै भने, विगत १० वर्षदेखि जापानमा भिजिट भिसाका नाममा हजारौं मान्छे पठाएर अर्बौं पैसा लिएर संसदमा प्रतिनिधित्व गर्ने र संसद् किनेर पार्टीबाट प्रतिनिधित्व गरेर भिजिट भिसामा बदमासी गर्ने काम भइरहेको छ।
प्रहरी स्रोतका अनुसार दुई दिनदेखि यो विषयमा चासो राखे पनि अहिलेसम्म कुनै ठोस प्रमाण फेला पार्न सकिएको छैन। प्रहरीले अध्यागमन विभागबाट भन्दा पनि ट्राभल कम्पनीबाटै विवरण लिने दिशामा काम अघि बढाएको जनाएको छ।
नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डिआइजी विनोद घिमिरेले भने,यस्ता विषयहरूमा प्रहरीको चासो हुन्छ तर सो ट्राभल्सको हकमा कहीं कतै उजुरी परेको छैन। संसदमा के के विषयहरू उठ्छन् त्यसमा हाम्रो ध्यान छैन।
यो आरोपको काउण्टरमा राष्ट्रिय स्वतन्त्र पार्टीका डोल प्रसाद अर्यालले संसदमा बलियो प्रतिक्रिया दिए। उनले गर्वका साथ स्वीकार गरे कि सुमिरे टुर्स एन्ड ट्राभल्स आफ्नै कम्पनी हो। म यही देशमा केही गरेर खाने मान्छे हो, चोरेर खाने मान्छे होइन,उनले भने।
अर्यालले आफूविरुद्ध लगाइएको आरोपलाई निराधार भन्दै चुनौती दिए। हामीले पैसा लिएका छौं र फर्केका छैनन् भने प्रमाण पेस गर्न चुनौती दिन्छु। होइन भने निराधार आरोप संसदको रेकर्डबाट हट्नुपर्छ, उनले सभामुखसमक्ष रुलिङ माग गरे।
यस बीचमा, युवराज सफलले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा डीपी अर्यालविरुद्ध भिजिट भिसा दुरुपयोग र मानव तस्करी विषयमा छानबिनको माग गर्दै उजुरी दर्ता गरेका छन्। सफलले अर्यालले संसदमा सुमिरे ट्राभल्सको सञ्चालक भएको स्वीकार गरेपछि यो उजुरी दर्ता गरेको जनाएका छन्।
अर्यालले संसदमा भने,३३ दिनदेखि भिजिट भिसाका नाममा भइरहेको मानव तस्करीविरुद्ध आन्दोलनमा छौं। राजनीतिलाई पेसा बनाएर देश दोहन गर्नेहरूले आफ्नो पेसा–व्यवसाय गरेर खानेहरूमाथि गम्भीर आरोप लगाउन पछि परेनन्।
यो विवादले नेपालको भिजिट भिसा प्रक्रिया र ट्राभल कम्पनीहरूको कार्यशैलीमाथि गम्भीर प्रश्न खडा गरेको छ। प्रहरीको अनुसन्धानले यो मामिलामा नयाँ तथ्यहरू बाहिर ल्याउने अपेक्षा गरिएको छ। संसदमा उठेको यो विषयले राजनीतिक वृत्तमा हलचल ल्याएको छ।