एसीसी यू-१६ इस्ट जोन कप: मलेसियाविरुद्ध सानदार जित निकाल्दै नेपाल फाइनलमा

काठमाडौं। नेपाल एसीसी पुरुष यू–१६ ‘इस्ट जोन’ कप क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ। भर्खरै सम्पन्न खेलमा नेपालले घरेलु टोली मलेसियाविरुद्ध सानदार जित निकाल्दै फाइनलमा स्थान पक्का गरेको हो।

टस जितेर बलिङ गरेको नेपालले मलेसियालाई ९० रनमा अलआउट गरेको थियो। जितका लागि ९१ रनको सामान्य लक्ष्य पछ्याएको नेपालले १ विकेटको क्षतिमा ११.४ ओभरमा ९२ रन बनाउँदै जित निकालेको हो।

नेपालका लागि परिमार्जन यादवले नटआउट ५९ रनको अर्धशतकीय पारी खेलेका थिए। ३५ बलको सामना गरेका उनले ५ चौका र ५ छक्का प्रहार गरेका थिए। अर्का ओपनर प्रसिद्ध जैसी २ रन बनाउँदै आउट हुँदा सिवांश बजगाईंले २२ बलमा ४ चौका हान्दै २३ रन जोडे।

त्यसअघि मलेसियाको सेलेङ्गर ट्रफ क्लबमा भएको खेलमा नेपालको कसिलो बलिङका सामु मलेसिया ४३.१ ओभरमा ९० रनमा अलआउट भएको थियो। मलेसियाका लागि मुहम्मद फातुल मुइनले सर्वाधिक ३८ रन जोडे। त्यस्तै कप्तान दियाज पात्रोले १० रन बनाउनबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन्।

नेपालका लागि अभय यादवले ४ विकेट लिँदा शुभम खनालले ३ विकेट लिए । त्यस्तै कप्तान विपिन प्रसाद शर्मा र सचिन दासले १र१ विकेट लिए । नेपाल समूह ‘ए’ को विजेता र मलेसिया समूह ‘बी’ को उपविजेता हुँदै सेमिफाइनलमा पुगेका हुन्।