किसानप्रति सरकारको सोचै गलत छ: शेखर कोइराला

काठमाडौं। नेपाली काँग्रेसका सांसद डा.शेखर कोइरालाले किसानप्रति सरकारको सोचै गलत रहेको बताएका छन्। शनिवार काठमाडौँमा स्व। गिरिजाप्रसाद कोइरालाको जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

उनले सकारात्मक सोचबाट अघि बढ्न जरुरी रहेको बताए। उनले अब सामान्य खेती गरेर नहुने भन्दै किसानलाई आधुनिक कृषि गराउन तालिम दिनुपर्ने बताए।

उनले सरकारले उखु किसानलाई दिँदै आएको अनुदान कटौती गरेकोप्रति आपत्ति जनाए। आफूले अहिले पनि २० बिघा जग्गामा उखुखेती गरिरहेको बताए। सरकारसँग पैसा छैन भनेर उखु किसानलाई दिँदै आएको अनुदान कटौती गर्नु गलत भएको बताए।

उनले मन्त्रीहरूलाई विदेश भ्रमण जान चारपटक जति रोके डेढ अर्ब रुपैयाँ तत्काल निस्किने बताए।

कोइरालाले भने, ‘सामान्य खेती गरेर मात्रै हुँदैन, म अहिले पनि २० बिघामा उखु लगाउँछु। यो सरकारको सोच कति गलत छ हेर्नुस्। २५ वर्षदेखि अनुदान दिइरहेको थियो।

उखु किसानलाई यस पटक अनुदान छैन, किनभने सरकारसँग पैसा छैन। जम्मा डेढ अर्ब लाग्थ्यो। मन्त्रीहरू विदेश गएको गयै देख्छु। दुई चारपटक मन्त्रीहरू विदेश नगइदिए त डेढ अर्ब त उठिहाल्छ। आमकिसानलाई त दिनुपर्छ।

सांसद कोइरालाले अहिले नेपालमा केही पनि भएन, केही गरेनन् भन्ने भाष्य निर्माण गरिएको बताए। गर्न सकिँदैन भन्ने नभई हामी सक्छौँ भन्ने सोच बनाउन जरुरी रहेको बताए।