चितवनमा गजल उत्सव हाउसफुल
प्रेम प्रसाद कडेल
चितवन। चितवनमा तीन वटा गजलसङ्ग्रह सार्वजनिक भएका छन् । गजल मञ्च चितवनका पूर्व अध्यक्ष एवं सल्लाहकार रमेश प्रभातको सम्पादन तथा गजल मञ्च चितवनद्वारा प्रकाशित गजलकार किसान प्रेमीको ‘अन्जानमा गयौ कि ! मञ्चका हालका अध्यक्ष रामकृष्ण अनायासको ‘अनायास’ र कोषाध्यक्ष सरस्वती पौडेलको ‘प्रत्यूष ‘ गरी तीनवटा गजलसङ्ग्रह एकैसाथ विमोचन गरिएको हो।
गजल मञ्च चितवनले शनिबार भरतपुर मावि को सभाहलमा आयोजना गरेको `सेन्ट्रल कलेज गजल उत्सव – अग्रजका गजल´ कार्यक्रममा प्रमुख अतिथि केशवराज आमोदी, विशिष्ट अतिथि प्रकाश अधिकारी र रमेश प्रभातले संयुक्तरूपमा कृति विमोचन गर्नुभएको हो।
तीन वटै कृतिका बारेमा समालोचक रमेश प्रभातले समीक्षात्मक टिप्पणी राख्नुभएको थियो । लक्ष्मी वैकुण्ठनाथ गुरुकुल प्रशिक्षक रोहन रेग्मीले स्वस्ती पाठ गर्दै कृति विमोचन गरेर कार्यक्रम उद्घाटन गरिएको थियो । कृति विमोचनपछि खुला गजलवाचन गरिएको थियो।
सोक्रममा किसान प्रेमी, पुष्प अधिकारी अञ्जली ,लेखराम सापकोटा, बालकृष्ण थपलिया, इन्द्रप्रसाद रेग्मी, गणेश शर्मा पौडेल, लकाश पौडेल, राजेन्द्र घायल, भुपिन खड्का, प्रशान्त सागर, डिल्लीराम बराल, गिरिराज अधिकारी, सूर्यप्रकाश कँडेल, विद्या भण्डारी चिराग, विष्णु उषा तिवारी, कृष्ण विश्वकर्मा कम्रेड सतिसाल, रामशरण थपलियालगायतले आकर्षक स्वरमा गजल सुनाएका थिए। कार्यक्रममा चितवन नवलपरासीका प्रबुद्ध साहित्यकार एवम् साहित्यिक संघसंस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो।
कार्यक्रममा स्वागत मन्तव्य प्रविण सन्नाटाले राखेका थिए भने कार्यक्रमको सहजीकरण गजल मञ्च चितवनको सचिव प्रमिला सानुले गरेकी थिइन्।
कार्यक्रमका प्रमुख अतिथि केशवराज आमोदीले चितवन गजलको उर्वर भूमि बताउँदै गजल मञ्च चितवनको आगामी दिनहरुमा प्रगतिको शुभकामना दिए। कार्यक्रमको समापन गर्दै गजल मञ्च चितवनका अध्यक्ष रामकृष्ण अनायासले उपस्थित सबै सबैमा हार्दिक धन्यवाद दिदै आभार व्यक्त गरे।