टी २० विश्वकप: नेपाल र नेदरल्यान्ड्सबिचको खेल आज हुँदै

काठमाडौं। नेपाली राष्ट्रिय क्रिकेट टिमले आज आईसीसी ट्वान्टी २० विश्वकप अन्तर्गत नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्ने भएको छ।

अमेरिकाको ड्यालसमा हुने खेल नेपाली समयअनुसार राति ९ः१५ बजेदेखि सुरु हुनेछ। विश्वकपमा नेपाल र नेदरल्यान्ड्स पहिलो पटक भिड्न लागेका हुन्।

ट्वान्टी २० विश्वकपमा नेपालले १० वर्षपछि सहभागिता जनाएको हो। यसअघि नेपालले पछिल्लो पटक सन् २०१४ मा ट्वान्टी २० विश्वकप खेलेको थियो।

नेपाल र नेदरल्यान्ड्सबीचको खेलअघि आज अन्य दुई खेल हुनेछन्। पहिलो खेलमा समूह ‘सी’ का अफगानिस्तान र युगान्डाबिच यतिबेला प्रतिस्पर्धा भइरहेको छ।

आजको दोस्रो खेलमा समूह ‘बी’ का इंग्ल्यान्ड र स्कटल्यान्डबिच प्रतिस्पर्धा हुनेछ। यो खेल राति ८ः१५ बजेदेखि सुरु हुनेछ।