नेपाल खेलकुद महासंघले माग्यो क्यान अध्यक्ष चन्दको राजीनामा

काठमाडौं। नेपाल खेलकुद महासंघले नेपाल त्रिकेट संघ (क्यान) अध्यक्ष चतुरबहादुर चन्दको राजीनामा माग गरेको छ। काठमाडौंमा आइतबार पत्रकार सम्मेलन गरेर महासंघले अध्यक्ष चन्दको राजीनामा मागेको हो।

क्यान अध्यक्ष चन्द अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले नेपाललाई विश्वकपका लागि प्रदान गर्ने १५ खेलाडी र १० सपोर्टिङ स्टाफमध्ये प्रशिक्षण समयदेखि अनिवार्य रुपमा हुनुपर्ने टिम डाक्टरलाई टिममा नराखी उक्त स्थानमा आफू र श्रीमतीसहित अमेरिका पुगेको भन्दै नैतिकताका आधारमा राजीनामा गर्न र राजीनामा नगरे कारबाही गर्न युवा तथा खेलकुद मन्त्रालयको ध्यानाकर्षण गराएको छ।

खेलाडीहरुलाई अमेरिकामा अध्यक्ष चन्दले चन्दा उठाउने हेतुले राति/राति होटेलमा खेलाडीहरूलाई उभ्याएको र फोटो खिचाउने काममा लागाएको आरोप लगाउँदै यसबारे सत्यतथ्य छानबिन गर्न पनि महासंघले माग गरेको छ।

पत्रकार सम्मेलनमा महासंघका केन्द्रीय सचिव विप्लव घोषले विश्वकप अगाडि क्यान अध्यक्ष चन्दको मिलेमतोमा क्यानका सचिव पारस खड्का अमेरिका पुगेर नेपाली खेलाडीले हस्ताक्षर गरेको ब्याट र टिसर्ट अक्सनमा राखेर बेचेको,अमेरिकामा बसोबास गर्ने नेपालीहरूले चन्दा उठाएर उपलब्ध गराएको रकम हालसम्म क्यानको बैंक खातामा दाखिला नभएको क्यानका स्वयं पदाधिकारी एवं केन्द्रीय सदस्यहरूले कुरा उठाएको बताए।

यसबारे अविलम्ब छानबिन गरी दोषीमाथि कारबाही गर्न घोषले माग गरे। उनले सन्दीप लामिछाने नेपालका उत्कृष्ट खेलाडी भए पनि नेपालको १५ सदस्यीय टोलीमा समेटिन नसकेको बारेमा पनि अविलम्ब छानबिन गर्न माग गरे।

अमेरिकामा फेम नेपाल नामक संस्थाले क्यानका अध्यक्ष चन्द र उहाँको श्रीमतीलाई ट्याङ आउट स्पोर्ट्स बार, इर्भिङमा खुवाएबापत र खेलाडीलाई एकछिन बसाएबापत खेलाडीलाई भेट्न गएका व्यक्तिहरूसँग टिकटको मूल्य ३५ डलर गैरकानुनी रुपमा उठाएको, ८० डलरको गेमको टिकटलाई १३५ डलर लिएर नेपाली दर्शकलाई ठगेको आरोप पनि महासंघले लगाएको छ।

विश्वकपको सन्दर्भमा विभिन्न व्यक्तिलाई अमेरिका पठाउने भन्दै भिसा प्रकियाका लागि प्रधानमन्त्री कार्यालयको लेटरप्याड प्रयोग गरेर ती व्यक्तिहरुबाट रकम उठाई मानव तस्करी गर्न लागेको र यस कार्य क्यानका पदाधिकारीको मिलेमतोविना असम्भव रहेको भन्दै छानबिनको माग समेत गरिएको छ।

क्यानको लेटरप्याडमा नागर्जुन नगरपालिकाका मेयरसहित पूर्व वडाअध्यक्षलाई क्यानका सचिवले विश्वकप अवलोकन गर्नका लागी अनुरोध गरेको पत्र मेयर आफैँले सामाजिक सञ्जालमा प्रकासित गरेकोबारेमा छानबिन गर्न माग महासंघले गरेको छ। सत्यतथ्य पूर्ण रुपमा सार्वजनिक नगरेसम्म महासंघले क्रमवद्ध आन्दोलन गर्ने चेतावनी दिएको छ।