प्रचण्ड र ओलीको सम्बन्ध बिक्रिदै, सत्ता गठबन्धन धरापमा

फाइल तस्बिर

काठमाडौं। सत्ता गठबन्धन भित्रका मुख्य दल एमाले र माओवादीको सम्बन्ध बिक्रिदै गएको छ। प्रचण्डमाथि ओलीले प्रहार गर्न सुरू गरेसँगै सत्ता गठबन्धन धरापमा परेको अनुमान गरिन थालिएको छ।

आम निर्वाचन सम्पन्न भएपछि २०७९ पुस १० गते माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड एमालेको समर्थनमा प्रधानमनत्री नियुक्त भए।

त्यसको २ सातापछि संसदको पहिलो बैठक बोलाइएको थियो। तर संसदको पहिलो बैठककै दिन प्रधानमन्त्री बनाउन सहयोग गरेको दल नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले अघिल्लो संसद विघटन सही भएको बताइदिए।

जबकी ओलीले गरेको संसद विघटनका विरुद्ध माओवादी लगायतका दलहरुले वृहत आन्दोलन गरेका थिए। र, नयाँ सहकार्यपछि संसद विघटनको विषय नउठाउने प्रधानमन्त्री प्रचण्ड र ओलीबीच आपसी समझदारी भएको थियो।

लगातारको आन्दोलन र अदालती प्रक्रियामा गएर दुई–दुई पटकको संसद विघटनलाई पुनर्स्थापना गर्नमा मुख्य भूमिका खेलेका प्रचण्डसँग ओलीको तत्कालीन समयमा पनि तालमेल मिलेन।

यही विषयलाई मुख्य मुद्धा बनाएर प्रधानमन्त्री प्रचण्डले एमालेको साथ छोडेर काँग्रेससँगै समीकरण कायम गर्न पुगेका थिए।

आफू नैतिक संकटमा परेको बताउँदै काँग्रेससँगकै गठबन्धनमा फर्किएका प्रचण्डले ओलीको उक्त बोलीले संविधानमाथि थप संकट पार्ने र संसदको स्थायित्वमै प्रश्न उठाएको उल्लेख गरेका थिए।

मुख्यतः आम निर्वाचनपछि नयाँ समीकरण बन्दा संसद विघटनको विषयले नै ओली र प्रचण्डको सम्बन्धमा फाटो आएको थियो। त्यसपछि काँग्रेसँगको समीकरणमा प्रधानमन्त्री प्रचण्डले सत्ता चलाइरहे। यद्यपि पछि आएर काँग्रेससँगको खटपटले पुनः प्रचण्डलाई एमालेसँगकै कित्तामा पुग्न बाध्य पार्यो ।

यो अवस्थामा एमाले अध्यक्ष केपी शर्मा ओली पनि एकाएक प्रचण्डसँग नरम बनेका थिए। त्यसपछिका दिनहरुमा संसद विघटनको प्रशंग पनि खासै आएन। सत्तारुढ दलका नेताहरुले वर्तमान समीकरण संसदको पूरै कार्यकालसम्म रहने दावी गर्दै आएका छन्।

तर पछिल्लो केही दिन यता भने एमाले अध्यक्ष ओलीले संसद विघटनको प्रशंग कोट्याउन थालेका छन् भने सत्तारुढ दलका नेताहरुमाथि नै जाइ लाग्न थालेका छन्।

ओलीको यो व्यवहारले सत्ता फेरि संकटतर्फ जानसक्ने आंकलन गर्न थालिएको छ । अध्यक्ष ओलीले पछिल्लो केही दिनयता रास्वपा सभापति देखि अन्य मन्त्रीहरुमाथि अस्वभाविक रुपमा खनिन थालेका छन्।

उपप्रधान तथा गृहमन्त्री समेत रहेका रास्वपा सभापति रविलाई चमेरोको संज्ञा दिनेदेखि सरकारका अन्य मन्त्रीहरुप्रति हेपाहापूर्ण टिप्पणी गरिरहेका छन् ।

शनिबार मात्रै एमालेको काठमाडौं जिल्ला अधिवेशनलाई सम्बोधन गर्न पुगेका अध्यक्ष ओलीले संसद विघटन सही भएको दावी गर्न खोजे ।

संसद विघटनको यथार्थताबारे अझै केही नेताहरु अबुझ बन्न खोजेको टिप्पणी गरेका ओलीले तत्कालीन कदम संवैधानिक नै रहेको जिकिर गरे।

एमालेकै सहयोगमा सत्ताको नेतृत्व गरिहरका प्रचण्डले भने संसद विघटनाको विषयबारे नबोल्ने समझारी भएको बताउँदै आएका छन्। यद्यपि ओलीले पुनः यो विषयलाई उठाउन थालेका थालेका छन्।

ओलीले संसद विघटनलाई सदर भन्न थालेपछि प्रधानमन्त्री प्रचण्डले यो विषयलाई कुन रुपमा लिन्छन्। यो पर्खाइको विषय बनेको छ। तर सत्ता सहयात्री सबैभन्दा ठूलो दल एमालेका अध्यक्ष ओलीले पछिल्लो समय प्रधानमन्त्री प्रचण्डदेखि अन्य सहयात्री दलहरुलाई चिँढ्याउने काम गरिरहेका छन्।

केही दिन अघि मात्रै पनि ओलीले बजेटप्रति असन्तुष्टि जनाउँदै माओवादी र अर्थमन्त्रीको आलोचना गरेका थिए। ओलीको यही व्यवहार र कार्यशैलीले पुनः सत्ता गठबन्धनमा दरारता आउनसक्ने खतरा पैदा भएको छ।