सुदूरपश्चिम सरकारलाई पूर्णता दिन मन्त्रालय फुटाउने मुख्यमन्त्रीको तयारी

धनगढी। सुदूरपश्चिम सरकारलाई पूर्णता दिने तयारी गरिएको छ। हाल सरकारमा सहभागी नभएको सत्तारुढ दल नेकपा एमाले र माओवादी केन्द्रलाई सहभागी गराउँदै मन्त्रीमण्डल विस्तारको तयारी गरिएको हो।

एकीकृत समाजवादी सुदूरपश्चिम संसदीय दलका उपनेता प्रकाश रावलले आज नै मन्त्री मण्डल पूर्णता दिने गरी छलफल अगाडि बढेको जानकारी दिए । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारतबाट फर्के लगत्तै आज अन्तिम टुङ्गो लागे पनि उपनेता रावलको भनाई छ।

उनका अनुसार एमाले र माओवादीबाट मन्त्री हुनेको नाम पनि टुङ्गो लागिसकेको छ। माओवादीबाट अक्कल रावल, ओमविक्रम भाट, र लक्ष्मी विकको नाम सिफारिस गरिएको हो।

त्यस्तै एमालेबाट सुरेन्द्र पाल, वीरबहादुर थापा र हिरा सार्कीको नाम सिफारिस गरिएको उपनेता रावलले बताए। तर अर्थ मन्त्रालयमा माओवादी र एमाले दुवैले दाबी गरेपछि कुरो मिल्न नसकेको उनको भनाइ छ।

मुख्यमन्त्री दीर्घबहादुर सोडारीले भागबन्डा पुर्‍याउन मन्त्रालय फुटाएर भए पनि मन्त्रीमण्डल विस्तारको तयारीमा लागेका छन्। मुख्यमन्त्री कार्यालय स्रोतकाअनुसार भौतिक पूर्वाधार विकास मन्त्रालय, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय र सामाजिक विकास मन्त्रालय फुटाएर तीन वटा नयाँ मन्त्रालय बनाउने तयारी गरिएको छ।

यहाँको भौतिक पूर्वाधार विकास मन्त्रालयलाई फुटाएर सहरी,ऊर्जा खानेपानी तथा सिँचाइ मन्त्रालय बनाउने,सामाजिक विकास फुटाएर शिक्षा युवा तथा खेलकुद मन्त्रालय र स्वास्थ्य मन्त्रालय तथा उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय फुटाएर वन,वातावरण,विज्ञान तथा प्रविधि मन्त्रालय र उद्योग,पर्यटन मन्त्रालय बनाउने तयारी गरेको छ।

त्यसका लागि मन्त्रिपरिषद्को बैठक बसेर सुदूरपश्चिम प्रदेश सरकार कार्यविभाजन नियमावली २०७४ लाई संशोधन गर्ने गरी मस्यौदा बनेको स्रोतको दाबी छ।