मुगुमा माओवादीको अलग्गै उम्मेदवारी दर्ता

  नेकपा माओवादी केन्द्र मुगुले आगामी प्रतिनिधी सभा र प्रदेश सभाका लागि आफ्नो अलग्गै उम्मेदवारी दर्ता गरेको छ ।

 

आइतबार विहान बसेको जिल्ला कमिटि बैठकले एकमतका साथ निर्णय गर्दै केन्द्रिय कार्यदलले गरेको निर्णय नमान्ने बताएको छ । एमाले–माओवादी संयुक्त कार्यदलले मुगु जिल्लाको सेटै एमालेलाई दिने सहमति जनाएको थियो । कार्यदलको निर्णय मुगुमा माओवादीलाई सिध्याउने षड्यन्त्र भएको जनाउँदै विरोधमा आइतबार बेग्लै उम्मदेवारीसमेत दर्ता गरेका छन् ।

माओवादीले मुगुबाट प्रतिनिधिसभामा सुरबहादुर बुढालाई उम्मेदवार बनाएको छ भने प्रदेश (क) मा सन्तोष मल्ल र (ख) मा मंगलबहादुर शाहीलाई उम्मेदवार बनाएको छ । जिल्लामा सबै सिट एमालेलाई दिइएकोमा आपत्ति जनाउँदै माओवादी केन्द्रको मुगु जिल्ला कमिटीले यो निर्णय नमान्ने औपचारिक निर्णय नै गरेको माओवादी पोलिट ब्यूरो सदस्य मंगलबहादुर शाहीले बताए ।

अलग्गै उम्मेदवारी दिनुको कारणबारे बताउँदै शाहीले भने ‘हाम्रो जिल्लामा जनयुद्धका ६४ जना सहीद हुनुहुन्छ । सयौं जनयुद्धका घाइते छन् । दुईहजार जना सक्रिय पार्टी कार्यकर्ताहरु छन्, तर एउटा पनि सिट माओवादीलाई नदिइनु वाम एकताको भावना विपरीत छ ।’ नेता शाहीका अनुसार एमालेको ढिपीले यस्तो भएको र अबको चुनावमा जितेर देखाउने बताए । बाहिर हल्ला भएजस्तो मुगुमा माओवादी कमजोर नभएको र विगतमा पार्टि टुटफुटको अवस्थाको जनमतका आधारमा यस्तो निर्णय भएको हो । यो सरासर गलत छ ।

 

वाम कार्यदलको सहमतिअनुसार आइतबार प्रतिनिधिसभाका लागि एमालेका गोपाल बमले उम्मेदवारी दर्ता गरेका छन् भने प्रदेश (क) मा एमाले नेता दानसिंह परियार र प्रदेश (ख) मा पनि एमालेकै चन्द्रबहादुर शाहीले उम्मेदवारी दर्ता गरेका छन् ।