गोरखा प्रहरी हिरासत मानव अधिकारमैत्री,ओढ्ने–ओछ्याउनेदेखि तातो–चिसो पानीसम्मको सुविधा
गोरखा । देशभरका नेपाल प्रहरीका हिरासत कक्ष कस्तो होला,यो विषय जोकोहीलाई अनुमान लगाउन गार्है पर्ला तर समाजमा अपराधजन्य क्रियाकलाप गरि प्रहरीको हिरासतमा पुगेका व्यक्ति भने भुक्तभोगी नै छन्।
देशभर रहेका इलाका प्रहरीदेखि जिल्ला प्रहरीसम्मको अबस्था अत्यन्त दयनीय देखिन्छ।हिरासतको क्षमता १५ जना रहेको हिरासतकक्षमा ६० जना भन्दा बढी विभिन्न अपराधमा मुछिएका आरोपीहरु राखिने गरेको देखिन्छ।यस्ता हिरासतमा पुग्ने व्यक्तिहरुमा कोहि कसैको लाञ्छनाको भरमा त कोही अपराधपुर्ण कार्य गरेरै पुग्ने गर्छन्।
यसरी प्रहरी हिरासत पुगेका व्यक्तिहरुलाई कसुर अनुसार ९० दिनसम्म थुन्ने अधिकार प्रहरीमा निहित छ।तर यसरी प्रहरी हिरासतमा पुगेका व्यक्तिहरुलाई जब प्रहरीले पक्राउ गरि हिरासतकक्ष पु-याउँछ त्यहाँ उसले अचम्मको दृश्य देख्छ।
जब हिरासत कक्ष प्रवेश गर्छ,सानो अन्धकार कोठामा खचाखच मानिस,कोठाको भिताभरी पुछेको राल – सिंंगान,भुँईमा दङ्ग, दङ्गती गनाएको बाक्लो परालको सुकुल वा दश टुक्रा भएको म्याट अनि त्यो फोहोरका कारण उत्पादन भएका परजीवी जिव उपिया ,उडुस,साङ्लो अनि लामखुट्टेको राँईझाई।यस्ता फोहोरका बाबजुद हिरासतकक्षमा जथाभावी फेरिएको पिसाबका कारण ह्वात्तै बान्ता आउने कोठा त छँदैछ त्यसमाथि खुट्टा समेत टेक्न नसक्ने पाइखाना ,देशभरका यस्ता प्रहरी हिरासतकक्षको बयान गरि साध्य छैन।
यसलाई सुधार गर्दै नेपाल प्रहरीका काबिल अफिसर तथा वर्तमान गोरखा जिल्लाका प्रहरी प्रमुख एसपी भरत बहादुर बिकले सम्भवतः नेपालमा नै पहिलोपल्ट हिरासतमा रहेका व्यक्तिलाई होटल बराबरको सुबिधा दिनेगरी हिरासतकक्ष निर्माण गरेका छन।
नेपाल प्रहरी संगठनकै साख जोगाउन तल्लिन एसपी भरत विकले गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनकारीबाट जिल्ला प्रहरी कार्यालय गोरखा जोगाउन सफल भएका थिए।
जिल्ला प्रहरी कार्यालय गोरखामा रहेको हिरासत कक्षलाई अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसर पारेर मानव अधिकारमैत्री रूपमा स्तरोन्नति गरिएको छ।
हिरासतमा राखिएका व्यक्तिको मौलिक अधिकार, सुरक्षा, स्वास्थ्य र सम्मानजनक जीवन सुनिश्चित गर्ने उद्देश्यले हिरासत कक्षलाई थप व्यवस्थित र सुविधासम्पन्न बनाइएको प्रहरी प्रमुख एसपी भरत बिकले जानकारी दिए।
एसपी बिकका अनुसार अबदेखि गोरखा हिरासतमा रहेका व्यक्तिलाई भेट्न आउने आफन्तहरूले ओढ्ने, कम्बल वा ओछ्याउने सामग्री बोकेर आउनु नपर्ने भएको छ। हिरासत कक्षमा सरसफाइ, न्यानोपन र आधारभूत आवश्यकतालाई मध्यनजर गर्दै प्रहरी कार्यालयले आवश्यक सम्पूर्ण व्यवस्था मिलाएको हो।
यसअघि हिरासतमा रहेका व्यक्तिका लागि आफन्तले घरबाटै कम्बल, म्याट्रेसलगायत सामग्री ल्याइदिनु पर्ने अवस्था थियो,एसपी बिकले भने, ‘अहिले बन्दीको मानव अधिकारलाई सम्मान गर्दै न्यानो ओढ्ने, ओछ्याउने, तातो–चिसो पानी, थर्मस, टिसर्टलगायत आवश्यक सुविधा उपलब्ध गराएका छौँ।
गोरखा नगरपालिका र आरुघाट गाउँपालिकाको आर्थिक सहयोगमा हिरासत कक्षको स्तरोन्नति गरिएको हो। दुई स्थानीय तहबाट प्राप्त तीन लाख ९४ हजार रुपैयाँको सहयोगमा हिरासत कक्षमा रङ्गरोगनसहित थप सेवा सुविधा विस्तार गरिएको एसपी बिकले बताए।
उनका अनुसार पहिला र अहिलेको हिरासत कक्षको अवस्थाबीच ठूलो अन्तर आएको छ। ‘पहिले आधारभूत सेवा सुविधा समेत दिन नसक्ने अवस्था थियो,उनले भने, ‘स्थानीय तहको सहयोग जुटाएर हिरासत कक्षलाई व्यवस्थित र मानव अधिकारमैत्री बनाएका छौँ।
प्रहरी कार्यालयले हिरासतमा रहेका व्यक्तिको गरिमा, स्वास्थ्य र अधिकार संरक्षणलाई प्राथमिकतामा राख्दै यस्तो पहल थालेको जनाउँदै आगामी दिनमा पनि सेवा सुधारलाई निरन्तरता दिइने जनाएको छ।
