केन्द्र सरकारसँग फोहर विसर्जनस्थल बनाउन माग

काठमाडाै कार्तिक ८। केन्द्र सरकारले नै फोहर विसर्जनस्थल ,ल्यान्डफिल साइट, निर्माण गरिदिनुपर्ने काठमाडौँ महानगरपालिकाको माग छ । महानगरका प्रमुख विद्यासुन्दर शाक्यले स्थान निर्माण गर्ने जिम्मा आफ्नो नभएको बताउँदै केन्द्र सरकारले निर्माण गरेपछि सङ्कलित फोहर लाने काम मात्र स्थानीय तहको भएको जिकिर गरे । शाक्यले भने, “फोहर राख्ने स्थान निर्माण गर्नका लागि आफूहरुसँग स्रोतसाधन नभएकाले केन्द्र सरकारले नै स्थान तय गरिदिनुपर्छ ।

 

दुई वर्षका लागि फोहर व्यवस्थापन गर्ने भन्दै १३ वर्षदेखि नुवाकोटको सिसडोलमा फोहर राखिँदै आएको छ । काठमाडौँ उपत्यकाका १८ स्थानीय तहको फोहर उक्त स्थानमा व्यवस्थापन हुने गर्छ । “स्थान निर्माणका सम्बन्धमा नेपाल सरकासँग कुरा भइरहेको छ यो समस्या छिटै हट्छ” शाक्यले भने । सिसडोलभन्दा दुई किलोमिटर पर एक हजार सात सय रोपनी जग्गा अधिग्रहण गरिसकिएको भए पनि निर्माणको काम अघि बढ्न सकेको छैन । उक्त स्थान निर्माणका लागि करीब तीन अर्ब रूपैयाँ र कम्तीमा दुई वर्षको समय लाग्ने अनुमान गरिएको छ ।

 

उपत्यकाबाट दैनिक एक हजार दुई सय मेट्रिक टन फोहर सिसडोलमा व्यवस्थापन हुँदै आएको छ जसमा सबैभन्दा बढी कामपाबाट पाँच सय मेट्रिक टन फोहर लगिने गरिएको छ । हरेक दिन उपत्यकाबाट निजी र कामपाका गरी दुई सय गाडी फोहर त्यहाँ जान्छ । वर्षाको समय आएपछि बाटो पहिराले पुर्ने र खाल्टो पर्ने हुँदा लामो समयसम्म पनि फोहर उपत्यकामा नै रहने समस्या कुनै नौलो भने होइन । रासस