एक दिनको व्यापार घाटा ३ अर्ब ८८ करोड


काठमाडौं कार्तिक ९। चालु आर्थिक वर्षको पहिलो तीन महिनामा मुलुकको वैदेशिक व्यापार घाटा दैनिक तीन अर्ब ८८ करोड रुपैयाँ पुगेको छ। भन्सार विभागका अनुसार चालु आर्थिक वर्षको पहिलो तीन महिना असोजसम्ममा तीन खर्ब ५० अर्ब रुपैयाँ व्यापार घाटा भएको छ । यसलाई दैनिक रुपबाट हेर्दा दिनको तीन अर्ब ८७ करोड रुपैयाँ घाटा देखिएको हो।

पछिल्लो तीन महिनाको तथ्यांक अनुसार मुलुकमा तीन खर्ब ९७ अर्ब ३३ करोड रुपैयाँको वैदेशिक व्यापार भएको छ। यसमा तीन खर्ब ७३ अर्ब ५८ करोड रुपैयाँको आयात भएको छ भने २३ अर्ब ७४ करोड ५० लाखको निर्यात भएको छ।

 

विभागका अनुसार तीन महिनामा आयात ४३।५७ प्रतिशतले वृद्धि भएको छ । गत वर्षको सोही अवधिमा दुई खर्ब ६० करोड भएकोमा यो वर्ष तीन खर्ब ७३ अर्ब ५८ करोड पुगेको हो । गत आर्थिक वर्षमा व्यापार घाटा दुई खर्ब ३९ अर्ब ७५ करोड थियो।

 

दैनिक ४ अर्ब १४ करोड रुपैयाँ बराबरका सामान आयात गर्दा २६ करोड ३७ लाख रुपैयाँ बराबरका सामान निर्यात गरेका छौं निर्यात भने सो अनुसार बढ्न सकेको छैन। तथ्यांकअनुसार तीन महिनामा १६ प्रतिशतले निर्यात बढेको छ। गत आर्थिक वर्षको पहिलो तीन महिनामा २० अर्ब ४५ करोड रुपैयाँ बराबरको सामान निर्यात भएकोमा यो वर्ष २३ अर्ब ७४ करोड पुगेको छ।

 

मुलुकको सबैभन्दा धेरै व्यापार घाटा छिमेकी देश भारतसँग छ। भारतबाट दुई खर्ब ३६ करोड बराबरको आयात हुँदा १३ अर्ब १६ करोड रुपैयाँको मात्र निर्यात भएको छ। भारतसँग मात्रै तीन महिनाको अवधिमा दुई खर्ब २२ अर्ब ९५ करोड रुपैयाँ व्यापार घाटा भएको तथ्यांकमा उल्लेख छ। त्यसैगरी, चीनसँगको व्यापार घाटा ५२ अर्ब ५५ करोड बराबर छ। तीन महिनामा चीनबाट ५३ अर्ब ११ करोड बराबरको सामान आयात र ५६ करोड ४० लाखको निर्यात भएको तथ्यांकमा उल्लेख छ।

 

तीन महिनामा मुलुकले वैदेशिक व्यापार गरेका मुख्य देशहरुमा भारत, चीन, फ्रान्स, जर्मनी, बेलायत, अमेरिका, युएईलगायत छन्। आयातको अवस्था हेर्दा सबैभन्दा धेरै भारतबाट ६३।२ प्रतिशत छ भने चीनबाट १४।२ प्रतिशत आयात भएको छ। बाँकी देशबाट १६।६ प्रतिशत आयात भएको विभागले उल्लेख गरेको छ।त्यसैगरी, निर्याततर्फ छिमेकी देश भारतमा सबैभन्दा धेरै छ । मुलुकले निर्यात गरेको कुल सामानमध्ये ५५।४ प्रतिशत भारत गएको छ। दोस्रोमा सबैभन्दा धेरै निर्यात भएको मुलुकमा अमेरिका छ । कुल निर्यातको १३।५ प्रतिशत सामान अमेरिका गएको छ।

 

त्यसैगरी, बेलायतमा ४।२ र जर्मनीमा ४।१ प्रतिशत निर्यात भएको छ । अन्य देशमा २२।८ प्रतिशत निर्यात भएको तथ्यांकमा उल्लेख छ। मुलुकले पछिल्लो तीन महिनामा गरेको कुल व्यापारमध्ये त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ३१।३२ प्रतिशत, विराटनगर भन्सारबाट २६।८१ प्रतिशत र वीरगन्जबाट १७।५५ प्रतिशत व्यापार भएको तथ्यांकमा उल्लेख छ। यो समाचार आजको नागरिकमा छ ।