प्रहरीमा हट्दै ३० वर्षे सेवाअवधि

काठमाडौं, माघ ११ । सरकारले नेपाल प्रहरी र सशस्त्र प्रहरीमा रहेको ३० वर्षे सेवाअवधि हटाउने भएको छ । संघीय प्रहरी ऐनमार्फत् सेवाअवधिको व्यवस्था हटाएर उमेरहद र पदावधि मात्रै कायम गर्न गृह मन्त्रालयले तयारी थालेको छ ।

 

स्रोतका अनुसार गृहमन्त्री रामबहादुर थापा बादलकै सक्रियतामा यस्तो व्यवस्था हुन लागेको हो । ऐनको मस्यौदा अहिले गृहबाट कानुन मन्त्रालय हुँदै अर्थ मन्त्रालयमा पुगेको छ । अर्थबाट ऐन मस्यौदा गृहमा आएपछि ५८ वर्षे उमेर हदमात्रै राखेर सेवा अवधि खुला गरी पठाउने तयारी भएको स्रोतले जानकारी दियो । मस्यौदामा प्रहरी प्रमुखको पदावधि हाल कायम रहेको चार वर्षबाट घटाएर तीन वर्ष कायम गरिएको छ ।

 

प्रहरी संगठन संघीयताअनुकूल बनाउँदा प्रदेश प्रहरी र संघीय प्रहरी गरी दुई संरचना हुने भएकाले ३० वर्षे सेवाहद हटाउँदा प्रहरी अधिकारीको वृत्ति विकासमा असर नपर्ने गृहका अधिकारीहरुको बुझाइ छ । समाचार आजको नागरिक दैनिक बाट प्रकाशित छ ।