काँग्रेस केन्द्री समिति बैठकः महासमितिको निर्देशन विपरित विधान पारित

काठमाडौं, फागुन १३ । नेपाली कांग्रेसको जारी केन्द्रिय समिति बैठकले विधान संशोधन पारित गरेको छ । महासमिति बैठकले परिमार्जन केन्द्रिय समितिलाई केही वुँदा परिमार्जन सहित पारित गर्न पठाएको भएपनि केन्द्रिय समितिले महासमितिको भावना विपरित संशोधित विधानलाई बहुमतले पारित गरेको हो ।

 

मुख्य गरी संशोधित विधानमा केन्द्रिय सदस्यहरु पनि महाधिवेशनमा तल्लो तहबाटै चुनियर आउनुपर्ने प्रावधान राखेर संशोधित विधान पारित गर्न महासमितिको बैठकले निर्देश गरेको थियो । समानुपातिक समावेशीको कुरामा पनि पटक पटक एउटैलाई अवसर नदिने गरि विधान संशोधन हुनुपर्ने महासमिति बैठकको निर्देशन थियो । महासमिति बैठकले प्राप्त सुझावहरुलाई समावेश गरी विधान पारित गर्न भनेपनि केन्द्रिय समितिमा विवाद भएपछि बहुमतले संशोधित विधान टुङ्गाएको हो ।

 

महाधिवेशनमा केन्द्रिय नेताहरु सबै तल्लो तहबाटै चुनिने व्यवस्था नराखेपछि अब १३ औं महाधिवेशनको जस्तै केन्द्रिय सदस्यहरु स्वत महाधिवेशन प्रतिनिधि हुनेछन र चौधौं महाधिवेशनमा केन्द्रिय नेतत्वको दाबी गर्न पाउछन् ।

 

केन्द्रिय सदस्य तल्लो तहबाटै निर्वाचित भएर आउनु पर्ने भन्ने बारेमा संस्थापन पक्षले असमती जनाएको थियो । वरिष्ठ नेता रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला पक्षका नेताहरु केन्द्रिय सदस्यहरु महाधिवेशनमा तल्लो तहबाटै निर्वाचित भएर आउनु पर्ने पक्षमा थिए ।

 

आइतवार बसेको बैठकले महासमिति बैठकबाट आएको उपसभापति विमलेन्द्र नीधिद्धारा प्रस्तुत राजनीतिक प्रस्ताव, महामन्त्रीद्धय डा. शसांक कोइराला र पुर्णवहादुर खड्काद्धारा प्रस्तुत सांगठनिक प्रस्ताव, कोषाध्यक्ष सितादेवी यादवद्वारा प्रस्तुत आर्थिक प्रतिवेदन र सहमहामन्त्रीद्धारा डा. प्रकाशशरण महतद्वारा प्रस्तुत काग्रेसको आर्थिक नीति सम्बन्धि प्रस्तावलाई पनि पारित गरेको छ । नेपाल समाचारपत्रबाट