भोलि राष्ट्रिय शोकको घोषणा सरकारी कार्यालय तथा शैक्षिक संस्थामा सार्वजनिक विदा

काठमाडौँ, फागुन १५ । बुधवार दिउँसो अकस्मात बसेको मन्त्रिपरिषदको बैठकले ताप्लेजुङमा हेलिकप्टर दुर्घटनामा परेर दुखद मृत्यु भएका सांस्कृतिक, पर्यटन तथा नागरिक उड्ययन मन्त्री रवीन्द्र अधिकारी र अन्य थप ६ जनाको स्मरणमा भोलि (विहीवार)लाई राष्ट्रिय शोकको रूपमा मनाउने निर्णय गरेको छ ।

 

मन्त्रिपरिषदको बैठक सकिएलगत्तै गृहमन्त्री रामबहादुर थापाले निर्णय सार्वजनिक गर्दै भोलि सरकारी कार्यालयमा झण्डा आधा झुकाइने बताए ।‘मन्त्रिपरिषद बैठकले फागुन १६ गते सम्पूर्ण सरकारी कार्यालय, शैक्षिक संस्थामा सार्वजनिक विदा दिने घोषणा गरेको छ,’ थापाले भने ।

साथसाथै मन्त्रिपरिषद बैठकले मन्त्री स्वर्गीय रवीन्द्र अधिकारीको राजकीय सम्मानका साथ अन्त्यष्टि गर्ने निर्णय गरेको छ । दुर्घटनाको सन्दर्भमा दुर्घटना जाँच नियमावली बमोजिम ४ सदस्यीय जाँच आयोग गठन गरिएको मन्त्री थापाले बताए ।