दश वर्षमा नौ लाख विद्यार्थी गायब

काठमाडौं, चैत ३ । वितेको १० वर्षमा नौ लाखभन्दा बढी विद्यार्थी विद्यालयबाट हराएका छन्। विसं २०६६ मा कक्षा १ मा भर्ना भएका विद्यार्थीले यस वर्ष एसईई परीक्षा दिँदैछन्। २०६६ सालमा कक्षा १ मा १३ लाख ६२ हजार ९२० विद्यार्थी भर्ना भएका थिए। दश वर्षमा अर्थात् २०७५ सालमा कक्षा १० मा आइपुग्दा ती विद्यार्थीको सङ्ख्या चार लाख ५६ हजार ४७६ भएको छ।

 

परीक्षा नियन्त्रण कार्यालय कक्षा १० का अनुसार यस वर्ष चार लाख ५० हजार १८६ परीक्षार्थी एसईई परीक्षामा सम्मिलित हुँदैछन्। कक्षा १० मा पुगेका विद्यार्थीभन्दा एसईई परीक्षा दिने विद्यार्थी करिव छ हजार कम छन् ।

 

दश वर्षमा नौ लाख विद्यार्थी हराउनुको वास्तविक कारणबारे सरोकार निकायले खोजी गरेको छैन। बीचैमा पढाइ छाड्ने र कक्षा दोहोर्‍याउने कारण नै यतिका विद्यार्थी हराएको हुनसक्ने ‘तयारी भनाइ’ शिक्षा निकायका पदाधिकारीले दिने गरेका छन्।

 

शिक्षा तथा मानव स्रोत विकास केन्द्रका उपमहानिर्देशक दीपक शर्माले भने , ‘किन बीचैमा कक्षा छाड्नु पर्‍यो र किन दोहोर्‍याउनु पर्‍यो भन्नेबारे भित्र गएर अनुसन्धान गर्न सकेका छैनौँ तर भर्ना भएकामध्ये आधाभन्दा बढी विद्यार्थी घट्नुको कारण कक्षा छाड्ने र दोहोर्‍याउने नै हो।’ विसं २०६६ मा छ लाख ८० हजार ४८२ बालिका र छ लाख ८२ हजार ४३८ बालक विद्यालयमा भर्ना भएका थिए।

 

केन्द्रको तथ्याङ्कअनुसार उनीहरू कक्षा १० मा आइपुग्दा दुई लाख ३६ हजार ३१३ छात्रा र दुई लाख २० हजार १६३ छात्र विद्यालयमा टिकेको देखिन्छ। सुरुमा भर्ना हुँदा छात्र बढी थिए भने कक्षा १० पूरा गर्दा छात्रा बढी टिकेको देखिन्छ। कक्षा १ मा २०६६ सालमा भर्ना भएकाहरू २०६७ सालमा कक्षा २ मा पुग्दा नौ लाख ९३ हजार ९१६ मात्र टिकेका थिए। सुरुमै झण्डै तीन लाख ७० हजार विद्यार्थी घटिसकेका थिए। केन्द्रका उपमहानिर्देशक शर्माले बीचैमा कक्षा छाड्नेहरुको बढी भीड प्राथमिक तहमै भएको बताए। खबर गोरखापत्र दैनिकमा छ।