प्रयास हत्यामा संलग्नलाई आजीवन कैद

काठमाडौँ,चैत ८ । गोङ्गबुमा आठ वर्षीय बालक प्रयास कुँवरको अपहरणपछि हत्या गरेको कसुरमा काठमाडौँ जिल्ला अदालतले कसुरदारलाई आजीवन कैदको सजाय सुनाएको छ ।

बालककै बाबुले सञ्चालन गरेको गेष्ट हाउसका सवारी चालक समेत रहेका महेन्द्र (एस) सार्कीलाई अदालतले आजीवन कैदको सजाय सुनाएको हो । अपहरणपछि हत्याको कसुरमा आजीवन कैद सजाय सुनाइएको अपराध संहिता लागू भएपछि सम्भवतः यो पहिलो घटना हो ।

यसअघि कास्की जिल्ला अदालतले बलात्कारपछि हत्याको घटनामा कसुरदारलाई आजीवन कैदको सजाय सुनाएको थियो । आजीवन कैदको सजाय अनुसार व्यक्ति जीवित रहेसम्म कैदमै बस्नुपर्नेछ ।

 

फौजदारी संहिताको दफा ४१ बमोजिम आजीवन कैदको सजाय सुनाइएका कसुरदार जीवित रहेसम्म कैदमा रहनुपर्नेछ । सार्कीलाई प्रयासको अपहरण गरी ज्यान मारेको अभियोगमा संहिताको दफा ४१ ९ग० बमोजिम आजीवन कैदको सजाय सुनाइएको हो ।

जिल्ला अदालत काठमाडौँका न्यायाधीश भरत लम्सालले गत बुधबार सार्कीलाई आजीवन कैदको सजाय हुने आदेश गर्नुभएको हो । न्यायाधीश लम्सालकै इजलासले फागुन ७ गते प्रयासको हत्यामा सार्कीलाई दोषी ठहर गरेको थियो ।

दोषी ठहर भएको एक महिनाभित्र सजाय निर्धारण गर्नुपर्ने फौजदारी कसुर सजाय निर्धारण तथा कार्यान्वयन ऐनको व्यवस्था अनुसार फागुन २९ गते सार्कीलाई आजीवन कैद सजाय सुनाइएको हो । पुस ८ गते सार्कीविरुद्ध मुद्दा दर्ता भएको थियो ।

काठमाडौँ जिल्ला अदालतका श्रेष्तेदार आनन्दप्रसाद श्रेष्ठले बालक प्रयासको हत्यामा संलग्न चालकलाई आजीवन कैदको सजाय सुनाइएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘नयाँ संहिता अनुसार केही कसुरमा व्यक्ति जीवित रहेसम्म कैदमा बस्नुपर्ने व्यवस्था छ । बालक प्रयासको हत्यामा संलग्न भएको कसुरमा प्रतिवादी चालक महेन्द्र सार्कीलाई आजीवन कैद सजाय सुनाइएको छ । आजीवन भनेको जीवनभर नै कैद बस्नुपर्नेछ ।’’

यस्तो थियो घटना

गोङगबुको स्वस्तिक त्रिवेणी गेष्ट हाउसका सञ्चालक प्रवीण कुँवरका छोरा प्रयासको मङ्सिर ११ गते अपहरण भएको थियो । अपहरणको दुई दिनपछि मङ्सिर १३ गते प्रयासको शव म्हेपी पुल नजिकै फेला परेको थियो ।

शव फेला परेपछि फरार रहेका सार्कीलाई शङ्कास्पद रहेको भन्दै डेराबाट पक्राउ गरिएको थियो । प्रहरी बयानमा सार्कीले बालकको हत्या स्वीकार गरेका थिए । करिब दुई महिनादेखि गेष्ट हाउसमा कार्यरत सार्कीले व्यक्तिगत रिसइवीका कारण बालकको हत्या गरेका प्रहरी समक्ष स्वीकार गरेका थिए ।

बयानमा उनले आमाबाबु नभएको मौका पारेर आफूले चलाउने गाडीमा नै बालकको अपहरण गरेको बताएका थिए । बाहिर लिएर गई बालकको हत्यापछि प्लाष्टिकमा पोको पारेर शव व्यवस्थापन गरेको स्वीकार सार्कीले गरेको छन् ।यो समाचार गोरखापत्रबाट साभार गरिएको छ ।