एसईई परीक्षाः सरकारीमा छोरी बढी, निजीमा छोरा

काठमाडौं, चैत ९ । समाजमा अझै पनि छोरा र छोरीबीचको विभेद मेटिन सकेको छैन। पितृसतात्मक सोचले जरो गाडेको समाजमा आमाबुवाले छोरीलाई अझै पनि आफनो मान्न नसकेकै कारण उनीहरुले छोरा र छोरीको शिक्षा दीक्षामा समेत विभेद गर्दैै आएको सरकारी तथ्याँकलेनै उजार गरेको छ।

 

चैत्र १० गतेदेखि सुरु हुने माध्यामिक परीक्षा कक्षा १० (एसइइ) को परीक्षामा सहभागिता जनाउने कुल परीक्षार्थीमध्ये सरकारी स्कुलबाट छोरीहरुको सहभागिता बढी छ भने निजी स्कुलबाट छोराहरुको सहभागिता बढी रहेको राष्ट्रििय परीक्षा बोर्डले उपलब्ध गराएको तथ्याँकले देखाएको छ। कक्षा १०का परीक्षा नियन्त्रक बिष्णुहरि अधिकारीले उपलब्ध गराएको तथ्याँक अनुसार यस वर्ष कुल ४ लाख ७५ हजार ३ विद्यार्थीले सहभागिता जनाउँदै छन्। जसमध्ये सरकारी स्कुलबाट ३ लाख ४० हजार १ सय ९६ छन्। कुल परीक्षार्थीमध्ये सरकारी स्कुलको ७१.६१ प्रतिशत सहभागिता रहेको छ। सरकारीबाट सहभागिता जनाउने कुल परीक्षार्थीमध्ये छोरीहरु एक लाख ८१ हजार ८ सय ७ रहेका छन् भने छोराहरु एक लाख ५८ हजार ३ सय ८९ सहभागिता जनाउँदै छन्। सरकारीबाट ५३.४४ प्रतिशत छोरीहरुको सहभागिता छ भने छोराहरु ४६.५५ प्रतिशतमात्र रहेका छन्।

 

जबकी निजी विद्यालयहरुबाट सहभागिता जनाउने छोराहरुको प्रतिशत ५७.९० छ भने छोरीहरु ४२ प्रतिशत मात्र छन्। निजी विद्यालयबाट यस वर्ष कुल एक लाख ३४ हजार ८ सय ७ विद्यार्थी परीक्षामा सहभागिता जनाउने छन्। यो कुल परीक्षार्थी सँख्यामा २८.५८ प्रतिशत मात्र हो। जसमध्ये छोराहरु ७८ हजार ५६ रहेका छन् भने छोरीहरु ५६ हजार ७ सय ५१ मात्र। किन अझै पनि छोरीहरुलाई जसोतसो मात्र स्कुल पठाउने र पठाइ हाले पनि सरकारीमा मात्र पठाउने गरेका छन् अभिभावकहरु रु यसको जवाफमा नेपाल अभिभावक महासंघ तदर्थ समितिका संयोजक सुप्रभात भण्डारी भन्छन्‘अझै पनि हाम्रो नेपाली समाजले छोरीलाई आफनो मान्न नसक्नु नै हो। ’उनले थपने‘ छोरीलाई अर्काको नासोको रुपमा पालनपोषण गरी जसो तसो सरकारी स्कुलमा अक्षर चिन्ने बनाएर विवाह गरी अर्काको घरमा पठाउने परम्परागत सोचले आमा बुवाले छोरीलाई खासै राम्रो शिक्षा दिनै नचाहेको प्रष्ट भएको छ।’ नागरिक दैनिकमा खबर छ  ।