ठूला विमानस्थल तोकिएकै समयमा बन्ने

काठमाडौँ, चैत १० । अन्तर्राष्ट्रिय विमानको चाप कम गर्दै पर्यटन प्रवद्र्धन गर्ने प्रमुख लक्ष्यसहित काठमाडौंबाहिर निर्माणाधीन दुई ठूला विमानस्थलको निर्माण तोकिएको समयभित्रै सम्पन्न हुन सम्भावना बढेको छ । अहिलेकै गतिमा काम भए गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवा र पोखरा क्षेत्रीय विमानस्थलको निर्माण समयमै सकिने जनाएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले दक्षिण एसिया पर्यटन पूर्वाधार विकास आयोजना अन्तर्गत ती परियोजना प्राथमकिताका साथ अगाडि बढाएको हो ।

 

राष्ट्रिय गौरवको आयोजना अन्तर्गतको दुवै विमानस्थलको निर्माण कार्य द्रुत गतिमा अगाडि बढाइएको छ । भैरहवा र पोखरा विमानस्थलको वर्षदिन यताको प्रगतिले समयभित्रै सम्पन्न हुने आधार तयार गरेको नागरिक उड्डयन मन्त्रालयको अध्ययन अनुसन्धान शाखाका उपसचिव दुर्गा भुर्तेलले बताउनुभयो ।

 

भैरहवा विमानस्थलमा तीन हजार मिटरको धावनमार्ग, अन्तर्राष्ट्रिय र प्रशासनिक भवन एवम् कन्ट्रोल टावर निर्माण कार्य अन्तिम चरणमा छ । चार वर्षअघि सुरु भएको विमानस्थलको स्तरोन्नति वर्षदिन यता तिब्रता पाएको छ ।

 

अधिग्रहणमा परेको १४० विघा जग्गाको मुआब्जा वितरण भइरहेको छ । २८८ विघाको मुआब्जा वितरण पक्रिया पनि सँगसँगै अगाडि बढाइएको छ । धावन मार्ग चार ‘लेयर’को बनाउने लक्ष्य राखिएको छ । “तीन ‘लेयर’को सम्पन्न भएको छ, चौथो ‘लेयर’ राख्ने कार्य आजैभोलि सुरु हुन्छ”– बताउनुहुँदै गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, भैरहवाको आयोजना प्रमुख प्रवेश अधिकारीले निर्धारित समय यो असारभित्र सम्पन्न हुने दाबी गर्नुभयो ।

 

भैरहवा विमानस्थलको प्रगति ६७ प्रतिशत रहेको छ । उपकरण जडान, विद्युतीकरण लगायतको ३० प्रतिशत कार्य ‘स्ट्रक्चर’मा निर्भर रहेकाले सम्पन्न भएलगत्तै प्रगति प्रतिशत बढ्ने आयोजना प्रमुख अधिकारीले तर्क गर्नुभयो ।याे समाचार आजको गोरखापत्र दैनिकमा छ।

 

नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक सजिञ्व गौतमले ‘इलेक्ट्रो मेकानिकल कम्पोनेन्ट’ र उपकरण जडानसँगै सञ्चालनको लागि आवश्यक ‘सर्टिफिकेसन’ प्रकियामा जाने जनाउनुभयो । अन्तर्राष्ट्रिय मापदण्ड बमोजिम नै निर्माण भइरहँदा ‘सर्टिफिकेसन’मा समस्या नहुने प्राधिकरणका महानिर्देशक गौतमको तर्क छ ।

 

मुआब्जा वितरणमा मात्रै २३ अर्ब रुपियाँ खर्चिन लागेको भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलमा निर्माणतर्फ छ अर्ब ८२ करोड खर्च हुँदैछ । भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलको स्तरोन्नतिको कार्य नर्थ इस्ट सिभिल एभिएसन एयरपोर्ट कन्स्ट्रक्सन ग्रुप चीनले लिएको छ ।

 

क्षेत्रीय विमानस्थलको रूपमा विकास गर्न लागिएको पोखरा विमानस्थलको निर्माण २०२१ मा सम्पन्न गर्ने लक्ष्य राखिएको छ । नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक सञ्जिव गौतमले पोखरा विमानस्थलको निर्माण प्रगति सन्तोषजनक रहेको बताउनुभयो । पचास रोपनी जग्गा अधिग्रहणको लागि मुआब्जा निर्धारणको कार्य भइरहेको छ ।