तराई मधेशलाई समृद्धिको हिस्सेदार बनाउनु पर्छ :वरिष्ठ नेता पौडेल

जनकपुरधाम,चैत्र १४। नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द पौडेलले तराई मधेशलाई पनि समृद्धिको हिस्सेदार बनाउनुपर्ने खाँचो औँल्याएका छन् ।

 

नेपाल प्रेस युनियन धनुषाद्वारा बिहीबार जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमा उनले हिमाल, पहाड र तराईबीच पारस्परिक रूपमा एकताका आधारलाई बलियो बनाउनु जरुरी रहेको बताए ।

 

वरिष्ठ नेता पौडेलले समृद्धिका लागि नेपालका सम्पदालाई साझा रूपमा प्रयोग गर्ने पद्धति बसालेमा नेपाली जनजीवन छिमेकी राष्ट्र चीन र भारतभन्दा पनि धनी र सुन्दर हुन सकिने बताए ।

 

मधेशवादी दलहरू संविधान संशोधन गर्न नचाहने सरकारलाई समर्थन गरी मधेशी जनतालाई भ्रममा पार्ने कार्य गरेको चर्चा गर्दै उनले कांग्रेस संविधानमा भएको त्रुटिलाई सच्याउन चाहन्छ भने ।

 

वरिष्ठ नेता पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीले अदालत र अख्तियारलाई पनि आफ्नो इशाराबाट निर्दिष्ट गरेको आरोप लगाउँदै वाइडवडी प्रकरणमा अदालत र अख्तियारको मौनताले अराजकता मौलाउँदै गएको बताए ।

अख्तियार ठूला काण्डलाई संरक्षण दिइ स–साना काण्डमा मात्र केन्द्रित रहेको आरोप पनि उनले लगाए ।