बर्डफ्लुबारे सतर्कता अपनाउन आग्रह

काठमाडौँ, वैशाख ५ । काठमाडौंँ उपत्यका लगायत देशका विभिन्न भागमा बर्डफ्लुको सङ्क्रमण देखिनेक्रम रोकिएको छैन । पछिल्लो समय काठमाडौँ, भक्तपुर, ललितपुर, मकवानपुर, कास्की, मोरङ, सुनसरी लगायतका जिल्लामा बर्डफ्लुको सङ्क्रमण देखिएको छ । बर्डफ्लु पुष्टि भएपछि सरकारले हालसम्म हजारौँ कुखुरा नष्ट गरिसकेको छ भने त्यही अनुपातमा अण्डा र दाना समेत नष्ट गरेको छ । पशु सेवा विभागले हालसम्म बर्डफ्लुको सङ्क्रमणबाट नेपालमा मानिसको मृत्यु नभए पनि सर्वसाधरणलाई बर्डफ्लुबारे सतर्कता अपनाउन आग्रह गरेको छ ।

पशु सेवा विभागका अनुसार काठमाडौँमा ३८ हजार ९३२ कुखुरा नष्ट गरिएको छ । यस्तै दाना ११ हजार दुई सय केजी र अण्डा १० हजार २१५ वटा नष्ट गरिएको छ । हेटौडामा ४८ हजार कुखुरा नष्ट गरिएको छ भने छ हजार ८९० अण्डा र दुई हजार ९९३ केजी दाना नष्ट गरिएको छ । 

 

विभागका महानिर्देशक डा। बिमलकुमार निर्मलले कास्कीमा ७७ कुखुरा, ८५ अण्डा र ३८ केजी दाना नष्ट गरिएको जानकारी दिनुभयो । मोरङमा एक हजार ८३२ कुखुरा, १० हजार २९० अण्डा र १५ सय केजी दाना नष्ट गरिएको छ । सुनसरीमा ८७४ हाँस, एक हजार ६८० अण्डा र तीन सय केजी दाना नष्ट गरिएको छ ।
पशु स्वास्थ्य विभागका महानिर्देशक डा।निर्मलले गत शनिबार मात्र ललितपुरको गोदावरीमा एक हजार ९२० कुखुरा बर्डफ्लुका कारण मरेको जानकारी दिनुभयो । उहाँले सूर्यविनायकमा एक हजार पाँच सय कुखुरा बर्डफ्लुको कारण मरेको बताउनुभयो ।

सरकारले नष्ट गरेका पन्छीको क्षतिपूर्ति जिल्ला प्रशासन कार्यालयका प्रमुखको रोहबरमा ७५ प्रतिशत सम्म क्षतिपूर्ति दिने गरेको छ । गत फागुन महिनादेखि बर्डफ्लु देखिन सुरु गरे पनि हालसम्म नियन्त्रण हुन सकेको छैन । केहीदिन अघि काठमाडौँका तीन सय कागसमेत बर्डफ्लुका कारण मरेका थिए । पशु स्वास्थ्य विभागका महानिर्देशक डा। निर्मलले कुखुरा ,हाँस र कागमा बर्डफ्लु देखिए पनि परेवामा भने हालसम्म बर्डफ्लु नदेखिएको जानकारी दिनुभयो ।

उहाँले बर्डफ्लु सङ्क्रमित क्षेत्रमा पशु सेवा विभागबाट पशु चिकित्सक तथा अन्य स्वास्थ्यकर्मीको टोली नियन्त्रणको लागि निरन्तर लागिरहेको बताउनुभयो । उहाँले हालसम्म बर्डफ्लु मानिसमा सरेर मानिसको मृत्यु नभएकोले आत्तिनुपर्ने अवस्था नरहेको बताउनुभयो ।गाेर्खापत्र दैनिकबाट।

सरुवा रोग विशेषज्ञ डा। शेरबहादुर पुनले बर्डफ्लु मानिसमा सर्ने बित्तिकै त्यसले भयानक रुप लिने भएकोले सतर्क रहनुपर्ने बताउनुभयो । उहाँले मानिसमा बर्डफ्लु सर्दा धेरै छिटो लक्षण देखाउने भन्दै मानिसमा बर्डफ्लुको सङ्क्रमण भएपछि आँखामा सङ्क्रमण, ज्वरो, घाँटीमा खसखस, मांसपेसीमा पीडा, रुघाखोकीजस्ता लक्षण वा सासको गम्भीर रोगमा जस्तो छातीमा सङ्क्रमण, निमोनिया आदिजस्ता समस्या देखिन सक्ने बताउनुभयो । बर्डफ्लु दुई किसिमको हुने भन्दै उहाँले एचफाइभएन वन वर्डफ्लु कडा खालको हुन्छ । चीन, भारत लगायतका देशमा भने बर्डफ्लुका कारण मानिसको समेत मृत्यु भएको छ ।

 

बर्डफ्लुको सङ्क्रमण सङ्क्रमित पन्छी र जिउँदो वा मरेका कुखुरा र हाँस लगायत, तिनको सुलीसँग निकट सम्पर्कले हुने गर्दछ । यो सङ्क्रमण मानिसबाट मानिसमा दुर्लभ स्थितिमा मात्र सर्छ । सङ्क्रमित पक्षीको ¥याल, सिँगान, सुलीमा बर्डफ्लुको विषाणु रहने भएकोले यस्ता वस्तुलाई हत्तपत्ति छुन हुन्न र सङ्क्रमणको सम्भावना भएका वस्तु छोए तुरुन्त साबुनपानीले हात धुनुपने चिकित्सकको सुझाव रहेको छ ।

 

डा। पुनले बर्डफ्लुबाट बच्न बिरामी वा मरेको पक्षीलाई नछुने, बर्डफ्लु देखिएको ठाउँमा कसैसँग हात नमिलाउने, पक्षीसँगको सिधा सम्पर्कबाट बच्ने, सुली नछुने, घरमा पालेको पक्षीको पिँजडा र भाँडाकुँडा दिनहुँ सफा गर्ने, मासु एक सय डिग्री तापक्रममा पकाएर मात्रै खाने, काँचो वा आधा पाकेको मासु र अण्डा नखानाले रोगबाट बच्न सकिने जानकारी दिनुभयो ।