ओम अस्पतालमा पत्थरी निकाल्दा आन्द्रा काटिएर बिरामीको मृत्यु

काठमाडौं,  जेठ ३०। चाबहिलस्थित ओम अस्पतालमा पित्तथैलीको पत्थरी निकाल्ने क्रममा सानो आन्द्रा काटिएपछि बिरामीको मृत्यु भएको छ । सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–१० की ५० वर्षीया रामप्यारी थापामगरको बिहीबार बिहान मृत्यु भएको हो ।

 

मगरको गत शुक्रबार शल्यक्रिया गरिएको थियो । डा.रविन कोइरालाको टिमले पत्थरी निकाल्ने क्रममा काटिएको आन्द्रा नजोड्दा शरीरमा संक्रमण फैलिएर मृत्यु भएको आफन्तको आरोप छ । अप्रेसनका क्रममा काटिएको आन्द्रा त्यत्तिकै छाडेर बाहिर छाला मात्रै जोड्दा संक्रमण भएर ज्यान गएको मृतकका बैनीज्वाइँ खड्ग श्रेष्ठले बताए । घटनाबारे अस्पतालले भने कुनै प्रतिक्रिया दिएको छैन । ओम अस्पतालमा यसअघि पनि सामान्य उपचारका क्रममा बिरामीको ज्यान गएका घटना छन् । यस्ता गल्तीका कारण अस्पताल पटक–पटक विवादमा आउने गरेको छ । यो समाचार आजको नयाँ पत्रिकामा छ ।