सक्रियता बढाउँदै देउवा, प्रभाव देखाउने तयारीमा संस्थापन पक्ष

काठमाडौं, असार ११ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफूइतर पक्षको चर्को दबाबपछि पार्टीको आन्तरिक राजनीतिमा सक्रियता बढाएका छन् । इतरपक्षले सभापतिले सिंगो पार्टीका लागि चिन्ता लिनेभन्दा पनि गुटका लागि मात्रै चिन्तित बन्ने गरेको आरोप लगाइरहेका बेला देउवाले पार्टीको जनजागरण अभियानमा खटाइएका केन्द्रीय प्रतिनिधिलाई पार्टीको अवस्थाबारे छलफलका लागि डाकेका हुन् ।

 

कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार सभापति देउवाले बुधबार ९आज० ७७ वटै जिल्लामा खटाइएका केन्द्रीय प्रतिनिधिसँग जागरण अभियान, अबको रणनीति र वर्तमान राजनीतिक अवस्थाका विषयमा छलफल डाकेका छन् ।

 

संस्थापनइतर पक्षका नेताहरू रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला समूहले जनजागरण अभियानप्रति असन्तुष्टि जनाउँदै आएका छन् । पौडेलले जनजागरण घोषणालगत्तै एकलौटी ढंगले घोषणा गरिएको भन्दै आपत्ति जनाएका थिए भने सिटौलाले संगठनबिना नै पार्टीको जागरण चलाइएको भन्दै जनजागरणले दिनुपर्ने प्रतिफल दिन नसकेको बताउँदै आएका छन् ।

 

सभापति देउवाले पार्टीको केन्द्रीय समिति बैठक २२ असारका लागि डाकेका छन् । पार्टीको केन्द्रीय कार्यसम्पादन समिति गठनका विषयमा भएको विवादपछि करिब तीन महिना यता कांग्रेसको केन्द्रीय समिति बैठक बस्न सकेको छैन ।

 

सभापति देउवाले आगामी बैठकबाट पार्टीका रिक्त रहेका भ्रातृ संगठनलाई पूर्णता दिनसमेत चाहेका छन् । यस्तै, आगामी चैतबाट सकिने केन्द्रीय कार्यसमितिको म्यादका विषयमा पनि बैठकमा छलफल हुने देखिएको छ ।

 

सभापति देउवानिकट केन्द्रीय सदस्य मीन विश्वकर्माले आगामी केन्द्रीय समिति पार्टीको महाधिवेशनको कन्सेप्टमा प्रवेश गर्ने बताए । राजाधानी दैनिकमा खबर छ।