ओली–प्रचण्डको आ–आफ्नै ताल

काठमाडौं, असार ११ । नेपाल कम्युनिस्ट पार्टीभित्र आन्तरिक किचलो बढ्दै गएको छ। पार्टी एकीकरण भएको १३ महिनापछि पुनः शीर्ष तहमा भएको सहमति लागू गर्ने कि नगर्ने भन्ने विवाद चुलिएको छ।

 

पार्टी एकतापूर्व नै पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भएको आलोपालो नेतृत्व गर्ने र पार्टीको कार्यदिशाका बारेमा भएको सहमतिलाई लिएर शीर्ष तहमा नै आशंका बढेको छ। अध्यक्ष प्रचण्डले आलोपालो गर्ने सहमति भएको र कार्यान्वयन हुने अभिव्यक्ति दिएपछि पार्टीभित्र राजनीतिकरूपमा तरङ्ग ल्याएको थियो।

 

पार्टीका नेताहरूको कार्यविभाजन, जनसंगठनको एकीकरण, स्थानीय तहको एकताको विषय टुंगो लाग्न नसकेर सचिवालयको बैठक लम्बिँदै आएको छ। कार्यविभाजन पनि गुटगत स्वार्थका कारण लम्बिँदै आएको छ। पार्टी एकीकरण भएको तीन महिनामा सबै एकताको काम सम्पन्न गरे पनि १३ महिना बितिसक्दासमेत पूर्णता पाउन सकेको छैन। नेपाल समाचारपत्रमा खबर छ।