‘डाइपर’को बटम बनाएर ल्याइयो आधा किलो सुन

काठमाडौं,असार २३। सुन तस्करीका लागि तस्करले अनेक तरिका अपनाइरहेका बेला डाइपरको बटम बनाएर सुन ल्याउँदै गरेका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । कतारको दोहा हुँदै आइतबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेका मोरङका लीलाबहादुर बस्नेतलाई प्रहरीले डाइपरमा बटम बनाएर ल्याइएको आधा किलो सुनसहित पक्राउ गरेको हो ।

प्रहरीसमेत सुन तस्करीको सो रणनीतिबाट चकित परेको छ । पहिलोपटक बच्चाले लगाउने डाइपरमा लुकाएर सुन ल्याएको भेटिएपछि तस्करले सुन तस्करीका लागि नयाँ नयाँ तरिका अपनाउने गरेको तथ्य खुलेको हो ।

 

प्रहरीले यसअघि समेत त्रिभुवन विमानस्थलबाटै मलद्वारमा सुन लुकाएर ल्याउने तस्करीलाई समातेको थियो । यस्तै, जुत्तामुनि लुकाएर ल्याइएका तथा विभिन्न प्रकारका गहनालाई लेप लगाएर वा नक्कली कभर बनाएर ल्याइएका सुनका गहनासमेत प्रहरीले नियन्त्रणमा लिँदै आएको थियो । यसैगरी, तस्करले सुनलाई निल्ने र पछि निकाल्ने उपाय समेत अपनाउँदै आएको पाइन्छ । आइतबार भने प्रहरीले विमानस्थलबाट डाइपरमा लुकाएर ल्याइएको तस्करीको ५ सय ग्राम सुनसहित बस्नेतलाई पक्राउ गरेको हो ।

 

महानगरीय प्रहरी परिसर काठमाडौंका डीएसपी एवं प्रवक्ता होविन्द्र बोगटीले प्रहरीले विशेष सुराकीका आधारमा बस्नेतलाई विमानस्थलबाट बाहिरिएपछि पक्राउ गरेको बताए । प्रवक्ता बोगटीले बस्नेतले २२ वटा डाइपर ल्याएको र त्यसमा कूल १ सय ७५ वटा सुनका बटम लगाइएको बताए । प्रत्येक डाइपरमा आठ–वटा बटम लगाइएको र एउटा डाइपरमा भने सातवटा मात्रै बटम रहेको उनले जानकारी दिए । महानगरीय प्रहरी परिसर काठमाडौं र विमानस्थल सुरक्षा प्रहरी कार्यालयको संयुक्त अपरेसन टोलीले उनलाई विमानस्थलबाट बाहिरिँदै गर्दा पक्राउ गरिएको हो ।

 

उनी कतारको राजधानी दोहामा तीन वर्षअघि वैदेशिक रोजगारीका लागि गएको र बाबुको निधन भएपछि काजकिरियाका लागि घर फर्किएको अनुसन्धानबाट खुलेको छ । पक्राउ परेका बस्नेतले नेपाल फर्किने क्रममा एक व्यक्तिले बच्चालाई डाइपर लगिदिनू भनेर निश्चित रकम दिने सर्तमा त्यहाँबाट डाइपर पठाएको र सुन भएकोबारे आफूलाई जानकारी नभएको बयान प्रहरीलाई दिएका छन् । प्रहरीले सुन लिन आएका रुपेश गिरी र टेकबहादुर थापासमेतलाई विमानस्थलबाटै पक्राउ गरेको छ । उनीहरुमाथि थप अनुसन्धान भइरहेको बोगटीले जानकारी दिए ।‘बच्चाले प्रयोग गर्ने डाइपरको बटममा रिङ बनाएर ल्याइएको रहेछ, प्रहरीले विशेष सूचनाका आधारमा सुनसहित बस्नेतलाई पक्राउ गरेको हो । उनीसहित सुन लिन आएका दुईजना समेत पक्राउ परेका छन्,’ डीएसपी बोगटीले राजधानीसँग भने ।

यसैगरी, बस्नेत पक्राउ परेको केहीबेरमै विमानस्थल भन्सार कार्यालयले पनि उस्तै शैलीबाट सुन तस्करी गर्न खोज्ने अर्का एक भरियालाई समेत पक्राउ गरेको छ ।

विमानस्थलको एक्सरेमा चेकजाँचका क्रममा दोहाबाटै आएका वीरबहादुर थारू पक्राउ परेका हुन् । उनको साथबाट करिब दुई सय ग्राम सुन बरामद भएको बताइएको छ ।

 

प्रहरीले पछिल्लो समय सुनको तस्करी घटेको बताउँदै आए पनि तस्करले सुनको तस्करीका लागि नयाँ रणनीति अपनाउने गरेको सो घटनाले संकेत गरेको छ ।

प्रहरीले विदेशबाट फर्किने धेरैजसो नेपालीले छोटो समयमा परिचित भएका व्यक्तिले दिएका सामान ल्याइदिने गरेको र त्यसमा सोझासिधा व्यक्तिसमेत फस्ने गरेको भन्दै अरूले दिएका सामान ल्याउँदा सतर्क रहन समेत भनेको छ ।यो समाचार राजधानीबाट साभार गरिएको हो ।