नेकपामा नयाँ समीकरण

काठमाडौं,भदौ ३। सत्तारूढ नेकपाभित्र पार्टीमा नयाँ धुव्रीकरण देखा परेको छ। पार्टीमा मुख्य तीन धार (केपी ओली, पुष्पकमल दाहाल र माधव नेपाल)भए पनि एजेन्डागत निर्णयमा दुई धार देखिँदै आएको छ। नेताहरूले आफ्नो ‘पोजिसन’ ख्याल गर्दै बेलाबेलामा दुई धारको समीकरण बनाउँदै आएका छन्। साउन ३१ र भदौ १ मा बसेको सचिवालय बैठकपछि नेकपाभित्र नयाँ समीकरण निर्माण भएको हो।

 

बैठकपछि अध्यक्षद्वय केपी ओली, पुष्पकमल दाहाल, वरिष्ठ नेता झलनाथ खनाल, नेताहरू वामदेव गौतम, ईश्वर पोखरेल, महासचिव विष्णु पौडेललगायत नेताहरूको एउटा कित्ता र वरिष्ठ नेता माधव नेपालको एक्लो कित्ता देखा परेको छ। सचिवालयकै नेता नारायणकाजी श्रेष्ठ कतै खुलेका छैनन्। अर्का नेता रामबहादुर थापाले ओली–दाहाल एकतामै जोड गरेका छन्।

 

नौ सदस्यीय सचिवालयको पछिल्लो समीकरणले वरिष्ठ नेता नेपाल एक्लो परेका मात्र छैनन्, १५ महिनादेखि पार्टीमा रहँदै आएको तेस्रो मर्यादाक्रम पनि खोसिएको छ। ‘पार्टीभित्रको शक्ति केन्द्रमा तरलीकृत हुने क्रम विगतदेखि नै भइरहेकै छ।

 

अध्यक्षद्वय ओली, दाहाल र वरिष्ठ नेता नेपालका अलगअलग तीन धार छन्। त्यसमध्ये पार्टी एकतायता नै ओली र नेपालका दुई धार अहिलेसम्म ‘परस्पर विरोधी’ देखिएका छन्। अध्यक्ष दाहालले भने कहिले ओलीसँग त कहिले नेपालसँगको गठजोड गर्दै आएका छन्। पछिल्लो सचिवालय बैठकपछि नेपाल एक्ला देखिएका छन् भने ओली–दाहाल मिलेका छन्। यो पटक नेकपाभित्रको समीकरण निर्माणमा नयाँ ढंगले धुव्रीकरणको विकास भएको छ। वरिष्ठ नेता झलनाथ खनाल र वामदेव गौतमकै नाफाघाटालाई लिएर धार बनाउने–भत्काउने क्रम चलेको छ।

 

 

प्रधानमन्त्रीसमेत रहेका ओलीले पछिल्ला दिनमा पार्टी सचिवालयमा आफू अप्ठ्यारोमा परेको ठानिरहेका थिए। अध्यक्ष दाहाल, वरिष्ठ नेता नेपाल, झलनाथ खनाल, वामदेव गौतम सहितका नेताहरूको एउटा धुव्र बनिरहेको विषयमा ओली जानकार थिए।यो खबर अन्नपूर्णपोष्ट दैनिकमा छ ।