संघमा अवरुद्ध लोकसेवा परीक्षा प्रक्रिया सुरु, १७५ उपसचिव र १०० सहसचिवको नयाँ भर्ना खुल्दै

काठमाडौं, भदौ २० । संघमा कर्मचारी समायोजनका कारण झन्डै दुई वर्षदेखि अवरुद्ध रहँदै आएको कर्मचारी भर्ना प्रक्रिया सुरु भएको छ । केन्द्रीय सरकारअन्तर्गत रिक्त रहेका विभिन्न सेवा समूहका १ सय सहसचिव र १७५ उपसचिवको पदपूर्ति प्रक्रिया सुरु भएको हो । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विभिन्न मन्त्रालय र निकायबाट माग भई आएको संख्याको आधारमा पहिलो चरणमा १ सय सहसचिव र १७५ जना उपसचिवको माग आकृति फारम लोकसेवा आयोगमा पठाउने निर्णय गरेको हो । मन्त्रालयको बिहीवारको सो निर्णयसँगै लोकसेवाले केन्द्रीय सरकारमा कर्मचारी भर्नाको प्रक्रिया थाल्नेछ । लोकसेवाले पनि आवश्यक तयारी थालिएको जानकारी दिएको छ ।

 

मन्त्रालयले आयोगलाई पठाउने निर्णय गरेको माग आकृति फारममा प्रशासन सेवाका ७० भन्दा बढी सहसचिवको माग गरिएको छ भने उपसचिवमा पनि प्रशासन सेवाकै बढी रहेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रलायले जानकारी दिएको छ । मन्त्रालयको यस निर्णयसँगै संघमा रिक्त रहेका विभिन्न सेवा समूहका अन्य ७ हजार रिक्त पदमा पनि कर्मचारी भर्नाको प्रक्रियासमेत सुरु हुने भएको छ । केन्द्रीय सरकारमा लामो समयदेखि रिक्त पदहरूमा पदपूर्तिको प्रक्रिया सुरु हुन नसक्दा नीतिगत निर्णयदेखि सेवा प्रवाहसमेत प्रभावित हुँदै आएको छ ।

 

मन्त्रालयका अनुसार विभिन्न मन्त्रालय तथा निकायहरूका झन्डै ७ हजारको कर्मचारीको दरबन्दी रिक्त छ । रिक्त पदहरूमा १६३ सहसचिव, ३ सयको संख्यामा उपसचिव, ६ सयको संख्यामा शाखा अधिकृत र ६ हजारको हाराहारीमा नायब सुब्बा र खरिदार पद रिक्त रहेका छन् । संघीय संरचना बनेसँगै संघका कर्मचारी प्रदेश तथा स्थानीय तहमा खटिएका थिए । यससँगै संघमा ठूलो संख्यामा कर्मचारी अभाव हुन पुगेको हो ।

 

मन्त्रालयले अन्य पदहरूमा आवश्यक कर्मचारीको विवरण संकलन भइरहेको जानकारी दिएको छ । विवरण संकलनको काम अन्तिम चरणमा रहेकाले बाँकी पदहरूको पदपूर्ति प्रक्रिया समेत छिट्टै सुरु गरिने संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जानकारी दिएको छ । राजधानी दैनिकमा खबर छ ।