टुँडिखेल संरक्षण गर्न ओर्लिए सर्जक

काठमाडौँ, मङ्सिर ८ । शनिबार बिहानै टुँडिखेलस्थित खरीको बोटमुनि जम्मा भएका साहित्यकारहरूमाझ गायक वीरप्रसाद भन्सालीले सुनाउनुभयो, जनकवि दुर्गालाल श्रेष्ठको टुँडिखेल अतिक्रमणसम्बन्धी गीत ।

 

‘मुक्त टुँडिखेल’ नागरिक अभियानको समर्थन गर्न देशका साहित्यिक व्यक्तित्वहरू टुँडिखेलमा भेला भएका थिए । यो साहित्यिक जमघटमा स्रष्टाहरूले गीत, कविता, व्यङ्ग्यमार्फत टुँडिखेल अतिक्रमणको विरोध गरे । कविहरू श्रवण मुकारुङ, विप्लव प्रतीक, प्रभा भट्टराई, डा। रामप्रसाद ज्ञवालीलगायत नयाँ र पुराना पुस्ताका स्रष्टाहरूले सिर्जनामार्फत टुँडिखेललाई खुला बनाउन सरकारलाई आग्रह गर्नुभयो ।

 

साहित्यिक जमघट त्यही रुखको फेदमा गरिएको थियो, जहाँ असन इटुम्बहालका नेवारले फागु पूर्णिमाका बेला गुरुमापालाई राँगाको मासु र भात चढाउँछन् । स्थानीयका संस्कृति, परम्परासँग जोडिएका धेरै मूर्त अमूर्त सम्पदाको साइनो टुँडिखेलसँग छ । तर, पछिल्लो समय यसको व्यापक अतिक्रमणपछि ती संस्कृति र परम्परामाथि चुनौती आइलागेको अनुभव यहाँका स्थानीयले गरेका छन् । ‘मुक्त टुँडिखेल’ अभियानका संयोजक विजय श्रेष्ठ भन्नुहुन्छ, “हाम्रो संस्कृति, परम्परा र वातावरणमाथि चुनौती आइलागेपछि हामीले नै उठ्नुपरेको छ ।

 

सहरमा टुँडिखेलजस्तो खुला स्थान जोगाउन लाग्नुपर्नेमा सरकारी निकायले नै विभिन्न नाममा आफैँ संरचना बनाउने र बनाउन लगाएकोमा स्थानीय मात्र होइन, स्रष्टाहरू पनि आक्रोशित भए । “धेरै क्रान्ति सुरुआतको मञ्च टुँडिखेलको विजोग अवस्थाले प्रजातन्त्रलाई नै गिज्याइरहेको छ । नागरिक र सरकार सबै जागेर यसको संरक्षण गर्नुपर्छ,” उन्मुक्त पुस्ता नामक साहित्यिक अभियानका कवि मुक्तान थेबाले भन्नुभयो । बृहत् टुँडिखेलको अतिक्रमण रोक्न बौद्धिक दबाब सिर्जना गर्नका लागि साहित्यिक जमघट आयोजना गरिएको मुक्त टुँडिखेल अभियानका संयोजक विजय श्रेष्ठले बताउनुभयो । गोरखापत्र दैनिकमा खबर छ।