गढीमाईमा साढे ८ हजारको बलि

बारा, मंसिर १८ । गढीमाई मन्दिरमा मंगलबार साढे ८ हजार८ पाडाको बलि दिइएको छ । हरेक ५ वर्षमा लाग्ने गढीमाई मेलामा अघिल्लोपटक करिब ५ हजार पाडाको बलि चढाइएको थियो । महागढीमाई नगरपालिका–१ बरियारपुरस्थित मन्दिरमा तान्त्रिक विधिअनुसार पञ्चबलि दिएर पूजा गरिएको हो । मन्दिरमा ब्रह्मस्थान र गढीमाईलाई रंगशालामा जम्मा गरिएका पाडा बलि चढाइएको थियो ।

 

पूजा समितिका सदस्य र प्रत्यक्षदर्शीले यसपालि साढे ८ हजारभन्दा बढी पाडाको बलि दिइएको अनुमान गरे पनि मेला व्यवस्थापन समितिले संख्या सार्वजनिक गरेको छैन। समितिका पदाधिकारीले सबै रसिद संकलन भइसकेपछि संख्या यकिन हुने बताए। २५ वर्षदेखि मार हान्दै आएका आदर्शकोतवाल गाउँपालिका–६ टेढाकट्टी गाउँका ५५ वर्षीय महेन्द्र मण्डलले यसपालि पाडाको बलि बढेको बताए।

 

बरियारपुरका स्थानीय विजय स्वर्णकारले गढीमाईप्रति विश्वास र आस्था बढेकाले धेरै राँगाको बलि दिइएको बताए। पशुअधिकारकर्मीको बलि विरोधी अभियान र सर्वोच्च अदालतको बलि निरुत्साह गर्ने आदेशविपरीत धार्मिक आस्थाका कारण बलि बढेको स्थानीयको स्थानीयको बुझाइ छ।

 

पाँच वर्ष अघिको मेलामा भारतीय अदालतको फैसलाका कारण त्यहाँबाट आउने पाडाको संख्या घटेको थियो। यसपालि नाकामा कडाइ नहुँदा बलि बढेको स्थानीयले बताए। गढीमाई मेलामा भारतबाट ७० प्रतिशत पाडा आउने गरेको छ। कान्तिपुर दैनिकमा खबर छ ।