मासिँदै छन् उपत्यकाका ऐतिहासिक ढुंगेधारा

काठमाडौं, मंसिर ३० । स्वयम्भू किमडोमा झाडीले पुरिएको अवस्थामा रहेको ढुंगेधारालाई अभियन्ता र नेपाली सेनाको सहयोगमा सरसफाइ गरी पुरानै अवस्थामा फर्काइएको छ । धाराबाट पानी आउन रोकिएसँगै सो धाराको संरक्षण नहुँदा बेवारिसे बनेको थियो ।

 

केही समयअघि हात्तीसारमा भवन निर्माणको क्रममा रहेको स्थानमा प्राचीन ढुंगेधारा रहेको अभियन्ताले पत्ता लगाएपछि निर्माण कार्य रोकेर उत्खनन गर्दा ढुंगेधाराको संरचना पत्ता लाग्यो ।

 

तीनधारा पाठशाला नजिकै रहेको झन्डै ७ सय वर्ष पुरानो धारा पुरिएर दयनीय अवस्थामा भेटियो । धारा भेटिँदा टुटफुट भएको अवस्थामा थियो । हाल यो धाराको वडा नम्बर १ र पुरातत्व विभागको समन्वयमा पुनर्निर्माण हुँदै छ ।

 

यो त उदाहरण मात्रै हो । उपत्यकाका धेरै स्थानमा पानीको स्रोतका रूपमा रहेको ढुंगेधारा नासिँदै जान थालेका छन् । केही समय अघिसम्म उपत्यकामा मुख्य पानीको स्रोतका रूपमा रहेका ढुंगेधारा धमाधम सुक्न थालेसँगै बेवारिसे बन्दै गएका छन् । स्थानीयले प्रयोग गर्दै आएका ढुंगेधारा एकाएक सुक्न थालेपछि उनीहरूले पानीको संकटसमेत बेहोर्नुपरेको छ ।

 

अव्यवस्थित बसोवास तथा सहरीकरणका कारण भूमिगत पानीको स्रोत गुम्दै गएकाले ढुंगेधाराहरू लोप हुन थालेको संरक्षण अभियन्ताहरू बताउँछन् । राजधानी दैनिकमा खबर छ।