कांग्रेसका नेताले मागे : प्रधानमन्त्री ओलीको राजीनामा

बाँके, फागुन १० । नेपाली कांग्रेसका केन्द्रीय सदस्य शेखर कोइरालाले केपी शर्मा ओलीको राजीनामा मागेका छन् । ओलीकै मन्त्रीपरिषदका गोकुल बाँस्कोटा कमिसन प्रकरणमा मुछिएकाले त्यसको जिम्मा लिएर ओलीले नैतिकताको आधारमा राजिनामा दिनुपर्ने उनले तर्क गरे ।

 

प्रेस युनियनले शनिबार नेपालगञ्जमा गरेको पत्रकार भेटघाटमा कोइरालाले सुशासनका कुरा गरेर नथाक्ने प्रधानमन्त्रीले आफैले बनाएका मन्त्रीको कमिसन बार्गेनिङको अडियो सार्वजनिक भएपछि नैतिकता देखाउनु पर्ने बताए।

 

उनले नियन्त्रित प्रजातन्त्र र नियन्त्रित लोकतन्त्रमा देश अघि बढिरहेको आरोप लगाए। सरकारमा सुशासन पटक्कै नभएको र भ्रष्टचारको कुरा गरी साध्य नभएको कोइरालाको भनाइ छ।

 

सरकार राम्रोसँग चलोस भन्ने कामना गर्दा पनि सरकार सर्वसत्तावाद हुँदै अधिनायकवादतिर गइरहेको कोइरालाले आरोप लगाए। ‘अनुसन्धानको नाममा सरकारले हस्तक्षेप गरिरहेको छ,’ उनले भने, ‘हरेक घटनाक्रममा अख्तियार र सरकारको मिलोमतो देखियो। यी दुवै सवाल कांग्रेसलाई मान्य छैन ।’