विप्लपको लडाकु समूहमा बालबालिका, को–को पक्राउ परे ?

उदयपुर,चैत्र १। प्रतिबन्धित नेपाल कम्युनिष्ट पाटी बिप्लब समुहको लडाकुहरुमा अधिकाश बालबालिकालाई प्रयोग गरिएको छ । उदयपुरको चुरे जंगलबाट हतियारसहित पक्राउ परेको लडाकु मध्ये ६ जना बालबालिका थिए ।

 

धनुषा गणेशमान चारनाथ नगरपालिका–५ गौरी खोलाका लालबहादुर मोक्तानको छोरी १४ वर्षिया करिना मोक्तानलाई घरमा कोही नभएको मौका छोपी उनीहरुले अपहरण गरी उदयपुरको कटारी नगरपालिका– १ खसिबासको चुरे जंगलमा ल्याएर राखेका थिए । अपहरित बालिकालाई अपहरण मुक्त गराउने क्रममा हतियारसहित १५ जना लडाकु संयुक्त सुरक्षा फौजले घेरा हाली पक्राउ गर्न सफल भएको थियो । त्यसरी पक्राउ परेका मध्ये ६ जना बालबालिका रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख प्रहरी उपरिक्षक (एसपी) बीरबहादुर बुढा मगरले जानकारी दिए ।

 

हतियारसहित आएका बिप्लबका कार्यकर्ताले मोक्तानको घरमा खाना बनाई खाएर बालिकालाई समेत लिएर हिडेको थियो । बालिका अपहरणमा परेको खबर पाएपछि जिल्ला प्रहरी कार्यालय उदयपुरले ईलाका प्रहरी कार्यालय मिर्चैया सिराहा, ईलाका प्रहरी कार्यालय कटारी, सशस्त्र प्रहरी बेस क्याम्प कटारीको संयुक्त टोलीले उदयपुरको कटारी नगरपालिका– १ खसिबासको जंगलबाट बालिकासहित १५ जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी उपरिक्षक (एसपी )बुढा मगरले जानकारी दिए ।

 

बुधवार ३ बजे बालिका करिना मोक्तान अपहरणमा परेकी थिइन भने सुरक्षाकर्मीको टोलीले बिहीवार दिउँसो उदयपुरको जंगलबाट सकुशल अपहरण मुक्त गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

 

पक्राउ पर्ने मध्ये सर्लाही लालबन्दीका १६ वर्षिय रिता कार्की, ईलाम बतासेका १७ वर्षिय आयुस मगर, ताप्लेजुङका १६ वर्षिय रञ्जना राई, मोरङ आइतबारेका १७ वर्षिय सपना राई, मोरङका १५ वर्षिय आशिस श्रेष्ठ, सिन्धुली ज्यामिरेका १२ वर्षिय ईश्वर पुलामी मगर बालबालिका रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । उनीहरु सबै १८ वर्षमुनिका बालबालिका रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरका एसपी बिरबहादुर बुढामगरले जानकारी दिए । उनका अनुसार नेपालका कानूनले १८ वर्षमुनीकालाई बालबालिका नै मानिएको हुनाले नेत्र विक्रम चन्द (विप्लप)का पार्टीले लडाकुको रुपमा बालबालिका प्रयोग गर्नु गलत भएको बताए ।

 

पक्राउ पर्ने अन्यमा ईलाम फाकफोकका २० वर्षिय मुस्कान राई, सुनसरी ईटहरीका २८ वर्षिय बिवेक खड्का, ताप्लेजुङ खोक्सिङका २० वर्षिय बिकास राई, उदयपुर ताप्ली गाउँपालिकाका १८ वर्षिय अबिनास तामाङ, उदयपुर गाईघाटका २० वर्षिय आशिस लामा, धनकुटा पाख्रिबास नगरपालिकाका १९ वर्षिय अनिता राई, कैलालीका १९ वर्षिय अनुष्का राउत, भोजपुरका ४५ वर्षिय मणिराज राई, रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

 

उनीहरुको साथबाट सकेट बम ११ थान, प्रेसर कुकर बम १ थान, ठूलो चाईनिज पस्तोल ३ थान, त्यसको म्यागेजीन ३ थान, गोली ९ राउण्ड, खुकुरी १ थान र डेटोनेटर ३ मिटर फेला परेको थियो । उनीहरुलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय धनुषा पठाइएको छ ।राजधानीबाट,