कोरोनाको डरले घुमन्तेलाई बस्ती निषेध, छाक टार्न समस्या

काठमाडाै,चैत्र २४। कोरोनाको डरले गाउँ गाउँ डुली जीविका चलाउँदै आएका घुमन्ते परिवारलाई जीविकोपार्जनमा समस्या भएको छ । कोरोनाको प्रकोपभन्दा पहिले घुमन्तेहरूलाई बस्तीमा सहज प्रवेश भए पनि अचेल प्रवेश निषेध गरिएको छ ।

 

बल्वा नगरपालिका– ६ अमरपुरस्थित आँपबगैँचामा २० परिवार घुमन्ते बस्दै आएका छन् । बस्तीमा माग्न जाँदा ढोकासमेत खोल्न नमान्ने गरेको उनीहरूले गुनासो गरेका छन् । कुनैकुनै स्थानीयले बालबालिकाको माया लागेर टाढैबाट थोरै अन्न दिने गरेको र त्यसैका भरमा गुजारा चलाउनुपरेको उनीहरूले बताएका छन् ।

घुमन्ते जीवन बिताउँदै आएका नन्दलाल राठौर तथा उनीहरूसँगै थप करिब २० परिवारलाई लकडाउनको वेला अन्यत्र सर्नसमेत समस्या भएको छ । जुन ठाउँ गए पनि यस्तै समस्या हुने भएकाले अहिले आफूहरू दोधारमा रहेको उनीहरूले बताए ।

 

संकटको वेला उनीहरू सरकारसँग राहतको आशा गरेका छन् । बल्वा नगरपालिकाका मेयर विनोद यादवले नगरपालिका घुमन्तेहरूलाई सहयोग गर्न असमर्थ रहेको बताए । नगरपालिकाको बजेट नगरवासीका लागि हुने भएकाले आफूले चाहेरसमेत घुमन्तेहरूको लागि केही गर्न नसक्ने उनको भनाइ छ ।

बस्तीमा ठेउला

बस्तीका करिब आधा दर्जन बालबालिका र महिलामा ठेउला (चिकेन पोक्स) देखिएको छ । ठेउला भाइरसले हुने गरेको र एकबाट अर्कोमा सर्ने गरे पनि घुमन्तेहरूले भने मातारानी आएको र आफैँ निको हुने भन्दै औषधोपचार गराएका छैनन । बल्वा नगरपालिका– ३ परौलका अनवारुल हकले तत्काल उनीहरूको वासस्थानमै गएर स्वास्थ्य टोलीले ठेउलाको औषधि वितरण गरिदिनुपर्ने बताए । नयाँपत्रकिा दैनकिमा खबर छ।