साउदीमा हालसम्म १३ सय ६४ नेपाली कामदार कोरोना संक्रमित, ७ जनाको मृत्यु

काठमाडौँ, जेष्ठ ९ । साउदी अरबमा कोरोना भाइरस कोभिड १९बाट संक्रमित नेपालीको संख्या १७ महिलासहित १३ सय ६४ पुगेको छ । ७ जनाको मृत्यु भएको छ । एक हप्ताको अवधिमा ६ सय ९० जनामा कोरोना पुष्टि भएको हो । वैशाख ३० गतेसम्म ६ सय ७४ जना संक्रमित थिए ।

 

साउदीको स्वास्थ्य मन्त्रालयले रियादस्थित नेपाली दूतावासलाई संक्रमित नेपाली कामदारको विवरण उपलब्ध गराएको हो । राजदूत महेन्द्रसिंह राजपुतका अनुसार साउदी स्वास्थ्य मन्त्रालय र विदेश मन्त्रालयले यो सूचना उपलब्ध गराएको हो ।

 

संक्रमित नेपालीमा राजधानी रियाद क्षेत्रमा २९९ जना, पूर्व क्षेत्रमा ६९५, कसिम क्षेत्रमा १९ जना, अन्य क्षेत्रमा ३ जना छन् । त्यस्तै जेद्दा १७६, मक्का ६५, मदिना ७२, जाजान क्षेत्रमा ३३ र ताबुकमा २ जना संक्रमित भएका छन् ।

 

साउदी अधिकारीहरुका अनुसार संक्रमणबाट निको हुने नेपालीको संख्या उच्च छ । कोरोनाको संक्रमण भएकासँग टेलिफोन सम्पर्कमा रहनेलाई उच्च मनोबल दिने र हौसला प्रदान गर्ने प्रकारका कुराकानी गर्न दूतावासले अनुरोध गरेको छ ।

 

साउदीमा कोरोना भाइरसबाट संक्रमितको संख्या ६५ हजार ७७ जना पुगेको छ । बुधबार २५ सय ३२ जना नयाँ संक्रमित फेला परे । २५ सय ६२ जना निको भएका छन् । कान्तिपुर दैनिकमा खबर छ।