नेकपामा फेरि भाँडभैलाे: टाढिँदै पूर्वएमाले र पूर्वमाओवादी

काठमाडौं,साउन ११ । सत्तारूढ दल नेपाल कम्यम्युनिस्ट पार्टीभित्रको विवाद फेरि उत्कर्षमा पुगेको छ । पार्टीभित्रको आन्तरिक विवाद समाधान गर्नका लागि अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच पटक–पटक भएको वार्ता सहमति जुट्न सकेको छैन ।

 

विगत एक महिनादेखि निरन्तरत संवादमा जुट्दासमेत सहमति कायम हुन नसकेपछि प्रचण्डले पार्टीभित्र सामान्य परिस्थिति नरहेको र पार्टीकै अध्यक्ष ओलीको निर्देशनमा एमाले पार्टी दर्ता भएको अभिव्यक्ति दिएपछि थप विवाद सिर्जना भएको छ ।

 

प्रधानमन्त्री र अध्यक्ष दुवै पदबाट राजीनामा दिनुपर्ने मागबाट पछि हट्दै कार्यकारी अध्यक्ष लिएर सहमति कायम गर्न तयार हुनुभएका प्रचण्डको अभिव्यक्तिले पार्टीभित्र पुनः नयाँ विवाद सिर्जना गरेको छ ।

 

प्रचण्डको नेकपाकै अर्का अध्यक्षको सक्रियतामा नेकपा एमाले पार्टी निर्वाचन आयोगमा दर्ता हुनुु र सरकारले पार्टीमा हैकम जमाउन खोज्दा पार्टी संकटपूर्ण अवस्थामा पुगेको अभिव्यक्तिले नेकपाभित्र थप संकट सिर्जना भएको छ ।

 

पछिल्लो भेटवार्ता सकारात्मक बन्न नसकिरहेका बेला प्रचण्डले पार्टी विभाजनतिर जान सक्ने संकेत गरेपछि करिब समाधानतर्फ पुग्न लागेको विवाद बल्झिएको छ । नेकपाका नेता मणि थापाले पार्टी विभाजित हुँदा नेकपाको भविष्य संकटमा पर्ने बताउँदै देशको अहिलेसम्म प्राप्त उपलब्धिसमेत खतरामा पर्ने बताउनुभयो ।

 

‘जनताले दुई तिहाइको मत दिएको पार्टी विभाजन गर्न होइन, देशलाई समृद्ध बनाउन हो, पार्टीभित्र असहमति र विवाद स्वभाविकरूपमा छन्, पार्टी एकता गर्ने दुवै जना अध्यक्षले नै समस्याको समाधान खोज्नुपर्छ ।’ –उहाँले भन्नुभयो ।

 

स्थानीय समितिको बैठकमा विवाद समाधान गर्नका लागि प्रधानमन्त्री एवं पार्टी ओलीले आगामी मंसिरमा महाधिवेशनको प्रस्ताव गरेपछि महाधिवेशनमा जाने–नजाने निर्णय प्रचण्डले लिइसक्नुभएको छ । बैठकमा महाधिवेशनको पक्षमा सकारात्मक देखिनुभएका प्रचण्डले भोलिपल्टै वरिष्ठ नेता माधवकुमार नेपालसहितका सचिवालय र पूर्वमाओवादीका स्थायी समिति सदस्यहरूलाई ओलीसँग आफूले कुनै पनि सहमति नगरेको जानकारी गराउनुभएको थियो ।

 

ओली र प्रचण्डबीच नियमितरूपमा संवाद भए पनि जारी समस्याको समाधानका लागि भने ठोस सहमति जुट्न सकेको छैन । दुई अध्यक्षबीच कुरा नमिल्दा एक महिना अघिबाट शुरु भएको स्थायी समिति बैठक बारम्बार स्थगित हुँदै आएको छ ।

 

प्रचण्डले शुक्रबार एक कार्यक्रममा दिनुभएको अभिव्यक्तिको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले प्रतिवाद गर्दै खण्डन गर्नुभएको छ । प्रचण्डले दिउँसै रात पार्ने तथ्यहीन कुरा गर्नुको साटो बरु आफू प्रधानमन्त्री रहेका बेला पहिल्यै नक्सा प्रकाशित किन नगरेको भन्ने प्रश्न गर्नुभएको छ ।

 

स्थायी र केन्द्रीय कमिटीका बैठकपछि पार्टी एकतासँग सम्बन्धित विषय १५ दिनभित्र टुंग्याउने भन्ने निर्णय भए पनि आठ महिना बितिसक्दासमेत ती १५ दिन किन आएनन् भनेर उहाँले प्रचण्डलाई सोध्नुभएको छ ।

 

थापाको प्रश्न छ– ‘कसको स्वार्थ र चाहनामा यो सब भइरहेको छ रु विपक्षी दलका नेताको यसमा कुनै गुनासो र हीनता प्रकट नहुने, सत्ताधारी दलभित्र किन उछिनपाछिनको होडबाजी चलिरहेको छ रु अनि यो मपाईंत्व प्रदर्शन किन रु तथ्यको आफूखुसी अपव्याख्या र भ्रष्टीकरण किन रु’

प्रचण्डको अभिव्यक्तिले पूर्व एमाले र पूर्व माओवादीबीच वाकयुद्ध शुरू भएको छ ।नेपाल समाचारपत्रबाट,