सरकार पार्टीले चलाउने कि प्रधानमन्त्रीले

काठमाडौं,कार्तिक २३। सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले सरकार र पार्टीमा आ–आफ्नो पहुँच विस्तार तथा प्रभुत्व कायम गर्न खोज्दा आन्तरिक विवाद चर्किएको छ। प्रधानमन्त्रीसमेत रहेका ओलीले सरकारमा आवश्यक मन्त्रीलगायत नियुक्ति आफैंले गर्न पाउनुपर्ने तथा कार्यकारी अध्यक्ष दाहालले प्रधानमन्त्रीले मन्त्री बनाउँदा वा सरकारी नियुक्ति गर्दा पार्टीको सल्लाहमा गर्नुुपर्ने विषयलाई आ–आफ्नो प्रतिष्ठासँग जोडेका छन्। यही प्रतिष्ठाको विषयले ओली र दाहालबीच टकराव बढेको हो।

 

प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार भएको छलफलमा ओली र दाहालबीच मन्त्रिपरिषद् पुनर्गठन, सरकार र पार्टी सञ्चालन, सरकारले गर्ने राजनीतिक नियुक्तिलगायत विषयमा भनाभन भयो।

 

ओलीसँग छलफल गर्न दाहाल, वरिष्ठ नेता माधवकुमार नेपाल, अर्का वरिष्ठ नेता झलनाथ खनाल, पार्टी उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठ बालुवाटार पुगेका थिए।

 

दाहालसहितका नेताले ओलीलाई सचिवालय बैठक डाकेर विवादका विषयमा छलफल गरी निकास खोज्नुपर्ने बताएका थिए। यसै क्रममा सरकार र पार्टी सञ्चालन तथा राजनीतिक नियुक्तिको विषय उठेपछि ओली र दाहालबीच विवाद भएको छलफलमा सहभागी एक नेताले बताए।

 

ती नेताका अनुसार प्रधानमन्त्री ओलीले पार्टीभित्रैबाट सरकारविरुद्ध षड्यन्त्र भएको र दाहालले सरकारले राजनीतिक नियुक्तिलगायत काम गर्दा आफूहरूसँग नसोधेको बताएपछि धेरै बेर विवाद भएको थियो।

 

 

‘तपाईंहरू दाहाल पक्षलाई लक्षित गुट भेला गर्ने, सरकारविरुद्ध षड्यन्त्र गर्ने, जाली कुरा गर्ने, बाहिर ओलीले पार्टी फुटाउँछ भन्दै हिँड्ने’, ओलीलाई उद्धृत गर्दै ती नेताले भने, ‘ओलीले दाहाललाई जाली र झेली कुरा गरेको, सरकारविरुद्ध षड्यन्त्र गरेको, सरकारको काममा विभिन्न बहानामा हस्तक्षेप गर्न खोजेको आरोप लगाउनुभयो।’

 

प्रधानमन्त्री ओली कड्किएपछि दाहाल पनि उत्तेजित भएका थिए। दाहालले ओलीमाथि स्थायी कमिटीको निर्णय नमानेको, सचिवालय बैठक बोलाउन अस्वीकार गरेको, पार्टीबाट अलगअलग बसौं भनेको र मुलुकमा कोरोना महामारी बढिरहँदा राज्यशक्तिको दुरूपयोग गरी प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारलाई पनि आफ्नो समूहको अखडा बनाएको आरोप लगाए।

 

‘मैले धेरै पटक बैठक बसौं भनें तर तपाईं ९ओली० ले मान्नुभएन, मन्त्री, राजदूत नियुक्तिजस्ता विषयमा स्थायी कमिटीले पार्टीका दुई अध्यक्षबीचको सल्लाहमा निर्णय लिने भनिएको थियो तर तपाईंले सल्लाह गर्नुभएन, पार्टीको अन्तरपार्टी निर्देशन जारी गर्ने बेलामा पनि तपाईंले आफ्नो उपस्थिति खोज्नुभयो र पार्टी निर्णय त्यहींबाट उल्लंघन भयो,’ दाहाललाई उद्धृत गर्दै बैठक स्रोतले भन्यो, ‘यस्ता सबै विषय उल्लंघन गर्ने तपाईं जाली कि म जाली ?

 

दाहालले प्रधानमन्त्री ओलीमाथि पार्टीलाई नसोधी एकलौटी निर्णय गरेको र सरकारमा आफूलाई मन परेकालाई मात्र सहभागी गराएर पार्टीको समेत बदनाम गर्न खोजेको आरोप लगाएका थिए।

 

जबाफमा ओलीले सरकारको नेतृत्व पार्टी अध्यक्षले गरेकाले मन्त्री बनाउँदा र अन्य नियुक्तिको निर्णय गर्दा खासै अरूलाई सोधिरहनुनपर्ने बताएका थिए। उनले यस विषयमा केही नमिलेको भए केही दिनपछि सच्याउने पनि बताए।

 

स्रोतका अनुसार दाहाल–ओली भनाभन चर्कंदै गएपछि वरिष्ठ नेता नेपाल र उपाध्यक्ष गौतमले बीचमै बोलेर हस्तक्षेप गरेका थिए। नेपाल र गौतमले पार्टी कमिटी बैठकबाट कोही पनि भाग्न नमिल्ने र सबै विवादको निकास पार्टीका बैठकबाट खोजिनुपर्ने धारणा राखेका थिए।

 

‘अर्काको कुरा सुन्नै नचाहने बानी तपाईं ओली को छ, तपाईं अर्काको कुरा सुन्नुहुन्न र आफ्नो विरोध गर्नेलाई प्रतिशोधको भावानाले हेर्नुहुन्छ,’ नेपाललाई उद्धृत गर्दै स्रोतले भन्यो, ‘त्यसकारण तपाईं आत्मालोचित हुनुहोस्, सबै साथीले तपाईंलाई नै दोष किन दिइरहेका छन्।

 

यसको पनि त कुनै कारण होला नि, तपाईंले आफूमा भएका कमजोरी स्विकार्दा केही बिगँ्रदैन र सुधार हुनु आवश्यक छ। विवादका विषयमा पार्टीको बैठक राखौं र त्यहीं छलफल गरौं।’

 

स्रोतका अनुसार उपाध्यक्ष गौतम र प्रवक्ता श्रेष्ठले पनि ओलीको आलोचना गरेका थिए। यस क्रममा केहीबेर उनीहरू र ओलीबीच पनि भनाभन भयो।

 

गौतम र श्रेष्ठले सरकार सञ्चालनमा प्रधानमन्त्रीले एकलौटी गरेको, पार्टी र सरकार मिलेर अघि बढ्नुपर्नेमा त्यस्तो नभएकोे, प्रधानमन्त्रीको बोली एउटा र व्यवहार अर्को भएको, पार्टी र सरकारका काम प्रभावकारी नभएको भन्दै ओलीप्रति तितो पोखेका थिए।

 

नेताहरूले सचिावलय बैठक डाक्नभन्दा पार्टी अध्यक्षसमेत रहेका ओलीले केही बताएनन्। दाहालसहितका शीर्ष नेताहरूले एकदुई दिनमा सचिवालय बैठक डाक्न आग्रह गरेका थिए। तर ओलीले यस विषयमा आफूले पनि छलफल गर्नुपर्ने भएकाले केही दिनपछि बसौंला मात्र भनेका थिए।

 

प्रधानमन्त्री एवं अध्यक्ष ओलीसँग बालुवाटारमा भएको छलफलबाट बाहिरिएपछि पार्टी प्रवक्ता श्रेष्ठले पाँचजना नेताले सचिवालय बैठक डाक्न लिखित माग गरेको बताए। तर बैठक कहिले बस्छ भनेर ओलीले कुनै जबाफ नदिएको जानकारी श्रेष्ठले दिए।

 

‘हामीले सकभर भोलि आइतबार नै, नभए पर्सि ९सोमबार० सम्म बैठक बसेर विवादका विषयमा गम्भीरतापूर्वक छलफल गरौं भनेका छौं। प्रधानमन्त्री एवं अध्यक्ष कमरेडले बैठकबारे निष्कर्ष दिनुभएको छैन,’ उनले भने।

 

नेकपा स्थायी कमिटीका एक सदस्यले अहिले पार्टीका शीर्ष नेताहरूबीच देखिएको विवाद सैद्धान्तिक र वैचारिक नभएको बताए। ती सदस्यका अनुसार विवादको चुरो पार्टीसत्ता ठूलो कि राज्यसत्ता ठूलो भन्ने हो, मन्त्री र राजनीतिक नियुक्ति कसरी गर्ने भन्ने हो।

 

भदौ २६ गते स्थायी कमिटी बैठक बसेपछि प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् हेरफेर गर्न दाहालसँग मन्त्रीका लागि नाम मागिरहेका थिए। तर दाहालले गृहमन्त्री रामबहादुर थापा र उद्योगमन्त्री लेखराज भट्टलाई हटाएर नयाँ राख्न भनेका थिए।

 

तर ओलीले ‘मन्त्रीबाट कसलाई हटाउने भन्ने कुरा मेरो क्षेत्राधिकारको विषय तपाईं ९दाहाल० को होइन, तपाईं नाम मात्र दिनुस्’ भनेका थिए। तर दाहालले प्रधामन्त्रीले मागेअनुसार नाम दिएनन्।

 

यसै विषयलाई लिएर विवाद बढेको ती सदस्यले बताए। दाहालको इच्छाअनुसार ओलीले थापा र भट्टलाई मन्त्रीबाट हटाउन मानेनन्। ओलीले मन्त्रीहरू बिना मगर, वर्षमान पुन, शक्ति बस्नेत र रामेश्वर राय यादवको कार्यसम्पादन राम्रो नभएको भन्दै उनीहरूका स्थानमा जनार्दन शर्मा, टोपबहादुर रायमाझी, देवेन्द्र पौडेल, हरिबोल गजुरेल, प्रभु शाह र पम्फा भुसालमध्येबाट मन्त्री बनाउन चाहेका छन्। तर दाहालले मातृका यादवलाई पनि मन्त्री बनाउनुपर्ने अडान लिएपछि ओली थप बिच्किएको ती सदस्यको भनाइ छ।

 

स्रोतका अनुसार खानेपानीमन्त्री बिना मगरको कामलाई लिएर प्रधानमन्त्री ओलीले धेरै पटक दाहालसँग गुनासो गरिसकेका छन्। दाहाल भने यो विषय सुन्नै चाहन्नन्। ‘पछिल्ला दिनमा थापा र भट्टलाई हटाउनुपर्ने भन्दै दाहाल धेरैपटक बालुवाटार धाएका थिए तर उनको कुरा ओलीले सुन्दै सुनेनन्,’ स्रोतले भन्यो।

 

स्रोतका अनुसार दुई वर्ष पुगेका र कार्यसम्पादन सन्तोषजनक नभएका केही मन्त्रीलाई हटाएर नेपाल समूहका पनि दुईजनालाई मन्त्री बनाउने तयारी ओलीको छ। तर उनले यस विषयमा नेपालसँग सल्लाह भने गरेका छैनन्।

 

‘पूर्वमाओवादी समूहका मन्त्रीहरूलाई हटाएर सोही समूहका अन्यलाई आफ्नै च्वाइसमा मन्त्री बनाउने ओलीको चाहनामा दाहाल बाधक बनेका छन्। यो विषय ओलीलाई मन परेको छैन। पार्टी अध्यक्ष पनि भएको हैसियतमा मन्त्री आफैंले छान्न पाउनुपर्ने ओलीको चाहना छ’, स्रोतले भन्यो।नागरिक दैनिकमा खबर छ।