युवती बलात्कार अरोपमा इस्लाम धर्मगुरु मौलाना पक्राउ

काठमाडौं,मंसिर ११। सिरहाको मिर्चैया नगरपालिका–१० महेशपुर पुखर्यौली घर भई लहानमा डेरा गरी बस्दै आएका ३५ वर्षीय मोहम्मद अली हसनलाई लहानकी एक युवती बलात्कार आरोपमा इस्लाम धर्मगुरु मौलाना पक्राउ परेका छन्। लहान प्रहरीले युवती बलात्कार आरोपमा पक्राउ गरेको हो।

 

लहानकी २३ वर्षीया युवतीले हसनमाथि बलात्कारको जाहेरी दिएपछि प्रहरीले उनलाई डेराबाटै पक्राउ गरी जबर्जस्ती करणी कसूरमा मुद्दा दर्ता गरेको छ।

 

जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी गरिएको इलाका प्रहरी कार्यालय लहानको हिरासतमा राखेर सहनमाथि अनुसन्धान भैरहेको डीएसपी शरत थापा क्षेत्रीले जानकारी दिए।

 

मंगलबार साँझ लहान–७ की २३ वर्षीया मुस्लिम युवतीलाई स्वास्थ्य समस्या भयो। यवतीका परिवार उनलाई लिएर धर्मगुरु हसनको डेरामा पुगे।

 

मौलाना हसनले झारफुकको काम समेत गर्दै आएका थिए। परिवारसँगै गएकी युवतीलाई मौलानाले एक्लै कोठामा बोलाएर बाँकी सदस्यलाई बाहिर बस्न लगाएका थिए।

 

युवतीले प्रहरीमा दिएको बयानअनुसार झारफुक गर्ने नाममा कोठा थुनेर मौलानाले बलात्कार गरे। बलात्कार गरेपछि मौलानाले घटना सार्वजनिक नगर्न आफूलाई भुतको डर देखाएको समेत युवतीले प्रहरी समक्ष बयान दिएकी छन्। ‘तिमीसँग शैतान(भुत) पठाउँदै छु। कसैलाई घटनाबारे सुनाए। शैतानले मारिदिने भन्दै डराएको’ युवतीले बयानमा भनेका छन्।

 

बलात्कारपछि रक्तश्राव र दुखाई नरोकिँदा उनले घटना परिवार समक्ष भनेकि थिइन्। घटना सुनेपछि आक्रोशित आफन्त मौलानाको डेरा पुगेर नियन्त्रणमा लिई प्रहरीको जिम्मा लगाएका थिए। प्रहरीले युवतीको स्वास्थ्य परीक्षण गराई मौलानालाई नियन्त्रणमा लिएको थियो।

 

मौलानालाई नियन्त्रणमा लिने क्रममा उनका समर्थकहरुले प्रहरीलाई अवरोध गरेका थिए। युवती अहिलेपनि अस्पतालमै उपचारत छिन्। पक्राउ परेका आरोपित मौलाना हसन मुस्लिम समुदायमा बिरामी परेकाहरुलाई झारफुक गर्दै आएका थिए।

 

यो समुदायमा विरामी पर्ने अधिकांश मौलानाको डेरामा झरफुकका लागि पुग्ने गरेका थिए। मौलानालाई प्रहरीमा पुर्‍याउनुभन्दा घटना सामाजमै मिलाउन पीडित पक्षलाई मुस्लिम अगुवाहरुले दवाव दिइरहेका छन्।