वैदेशिक रोजगार विभागका पूर्वमहानिर्देशक पाण्डेसहित तीनजनालाई भ्रष्टाचार मुद्दा

काठमाडौं,मंसिर २७। वैदेशिक रोजगार विभागका पूर्वमहानिर्देशक विश्वराज पाण्डेले भ्रष्टाचार गरेको ठहर भएको छ । उनलाई दुई वर्ष कैद र ३ लाख ३३ हजार जरिवाना भएको विशेष अदालतले जनाएकाे छ।

 

‘उहाँसहित तीनैजनालाई जनही १०/१० वर्ष कैद र घुस मागिएको रकम १० लाखलाई तीन भागमा बराबर बाँडेर आउनेजति रकम जरिवाना हुने फैसला भएको छ। 

 

शुक्रबार विशेषका अध्यक्ष प्रेमराज कार्की तथा सदस्य बालेन्द्र रुपाखेतीको इजलासले उनीसहित तीनजनालाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको हो ।

 

तीन वर्षअघि उनी विभाग परिसरबाटै पक्राउ परेका थिए । अवकाश लिनुभन्दा एक महिनापहिले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनलाई नियन्त्रणमा लिएको थियो ।

उनीमाथि २०७४ पुस ४ मा अख्तियारले मुद्दा दायर गरेको थियो। सोही मुद्दाको फैसला सुनाउँदै विशेषले उनलाई दोषी ठहर गरेको हो।

विभागकै शाखा अधिकृत कृतिवल्लभ पौडेल र नायव सुब्बा खड्गबहादुर केसी पक्राउ परेको भोलिपल्ट तत्कालीन महानिर्देशक पाण्डे पनि अख्तियारको नियन्त्रणमा पुगे । पहिले पक्राउ परेका दुवैजनाको बयानका आधारमा पाण्डे पक्राउ परेका थिए ।

 

वैदेशिक रोजगार न्यायाधीकरणमा विचाराधीन मुद्दा मिलाइदिने भन्दै एक म्यानपावर कम्पनीबाट १० लाख रूपैयाँ घुस मागेको भन्दै अख्तियारले उनलाई पक्राउ गरेको थियो ।