जीवन–मरणको दोसाँधमा गंगामायाः अधिकारकर्मीद्वारा जीवनरक्षाको माग

काठमाडौं,माघ २। छोरा कृष्णप्रसाद अधिकारीको हत्यारालाई नेपालको प्रचलित कानुनबमोजिम कारबाहीको माग गर्दै गंगामाया अधिकारी विगत २५ दिनदेखि राष्ट्रिय ट्रमा सेन्टरमा आमरण अनशन बसिरहेकी छन्।

 

सरकार, न्यायालय र अन्तर्राष्ट्रिय जगतबाट समेत न्यायाको आशा नरहेको कारण आफ्नो जीवनको अन्तिम संघर्ष भन्दै उनले औषधि र पानी पनि मुखमा नहाली ट्रमा सेन्टरको साऔं तलामा जीवनमरणको लडाइँ लडिरहेकी हुन्।

 

छोराको हत्यारालाई कारबाहीको माग राख्दै २३ दिनदेखि अनशनरत गंगामायाको जीवन रक्षाको लागि मंगलबार राष्ट्रिय ट्रमा सेन्टरअगाडि अधिकारकर्मीहरूले दबाबमूलक धर्ना दिएका छन्।

 

सत्याग्रहको २३ औं दिनसम्म पनि उनको अवस्था र मागबारे सरकारको ध्यानाकषर्ण नभएपछि अधिकारकर्मी दबाब दिन सडकमा पुगेका थिए।

 

ट्रमा सेन्टरको अगाडि मानव अधिकारकर्मी, अधिवक्ता, सामाजिक अभियन्ता, कलाकारलगायत ५० जना हाराहारीले गंगामायाको जीवन रक्षाको लागि सरकारको ध्यानाकषर्ण गराएका छन्।

 

अनशनको २३ औँ दिनसम्म पनि सरकारले उनका मागबारे बेवास्ता गर्दै आइरहेको छ। उनको स्वास्थ्य अवस्था कमजोर बनेपछि अधिकारकर्मीहरू सडकमा उत्रन थालेका हुन्।

 

अधिकारकर्मी चरण प्रसाईले गंगामायाको बारेमा सरकारले लाचार बनेको बताए। उनले भने, ‘उहाँप्रति राज्यले चासो देखाएको छैन। यो सत्याग्रही गंगामायाको अपमान हो, सरकारकै हेपाइले गंगामायाले न्याय नपाउने अवस्था भयो।

 

गंगामायाले पटकपटक न्यायको पक्षमा आवाज उठाए पनि कतैबाट आफ्नो कुरा सुनुवाइ नभएकाले अब बाच्नुको कुनै अर्थ नरहेको बताउने गरेकी छन्। उनले आमरण अनशन बसेको २५ औं दिन भइसक्दा पनि सरकारले खासै चासो देखाएको छैन।

 

विगत ९ वर्र्षदेखि छोरा कृष्णप्रसादको हत्यारालाई कारबाही गर्नुपर्ने माग राखेर आमरण अनशन बसेका गंगामायको श्रीमान् नन्दप्रसाद अधिकारीको मृत्यु भएको पनि ६ वर्ष नाघिसकेको छ।

 

गंगामायको स्वास्थ्य अवस्था निकै गम्भीर र चिन्ताजनक रहेको मानव अधिकारकर्मी तथा अधिवक्ता पुरुषोत्तम अधिकारीले बताए। नेपाल मानव अधिकार संगठन (हुरोन)ले वीर अस्पताल अगाडि गंगामायाको जीवन रक्षाका लागि सरकारलाई ध्यानाकर्षण गराउँदै दिइएको धर्नामा अधिवक्ता अधिकारीले उनको जीवन रक्षाका लागि सरकार गम्भीर हुनुपर्ने बताए।

 

राज्य नागरिकको अभिभावक भएकाले न्यायको पक्षमा उभिँदा कसैको ज्यान जोखिममा पर्नु कानुनी राज्यको उपहाससमेत भएको भन्दै उनको जीवनरक्षाका लागि सरकारले तत्काल पहल थाल्नुपर्ने बताए।

 

हुरोनका अध्यक्ष महामुनिश्वर आचार्यले गंगामाया अधिकारी जीवमरणको दोसाधमा रहेकोले सरकारले उनको जीवन रक्षामा विशेष ध्यान दिनुपर्ने बताए।

 

गंगामायको न्याय प्राप्तिको बाटा पनि बन्द हुँदै गएको र अदालतबाट पनि न्याय नपाउने अवस्था आएकाले गंगामाया निराश बन्दै गएको उनको तर्क छ।

 

उहाँँलाई न्याय दिनका लागि राजनीतिक निर्णय हुन आवश्यक रहेको बताउँदै राजीतिक नेतृत्वबीच राष्ट्रिय सहमित नभइ उहाँले न्याय पाउने अवस्था नदेखिएको अध्यक्ष आचार्यको भनाइ छ।

 

उनले गंगामायाले अनसश बसेको समय उपयुक्त नभएकाले उनलाई आफूहरूले पटकपटक अहिले अनशन नबस्न भन्दा पनि नमानेको जनाए। नागरिक दैनिकमा खबर छ।