नेपालमा थप २ सय १३ जना कोरोना संक्रमण पुष्टि,कुन जिल्लामा कति थपिए संक्रमित

काठमाडौं,माघ १५। नेपालमा थप २ सय १३ जना कोरोना संक्रमण पुष्टि भएको छ। यो सँगै कुल संक्रमितको संख्या २ लाख ७० हजार ५ सय ८८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। जसमध्ये ३ हजार २ सय ३ जना सक्रिय संक्रमित छन्।

 

पछिल्लो २४ घण्टामा ३ हजार ७ सय ९१ जनाको पिसिआर परीक्षण गर्दा २ सय १३ जनामा कोरोना पुष्टि भएको छ। यो सँगै नेपालमा पिसिआर परीक्षण हुनेको संख्या २० लाख ६० हजार ८ सय ६० पुगेको छ।

 

पछिल्लो २४ घण्टामा कुनै पनि संक्रमितको मृत्यु भएको छैन। हाल १ सय १३ जना क्वारेन्टाइनमा छन्। पछिल्लो २४ घण्टामा २ सय ९६ जना उपचारपछि डिस्चार्ज भएका छन्। यो सँगै नेपालमा निको हुनेको संख्या २ लाख ६५ हजार ३ सय ६५ पुगेको मन्त्रालयले जनाएको छ।

 

यस्तै, देशभर हाल १ सय ७२ जना कोरोना संक्रमित अस्पतालको आइसियु र भेन्टिलेटरमा छन्। १ सय ४६ जना आइसियु र २६ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ।

कुन जिल्लामा कति थपिए संक्रमित

प्रदेश १ को उदयपुरमा १, ओखलढुंगामा १, मोरङमा १, सुनसरीमा १ र सोलुखुम्बुमा १ जनामा कोरोना भेटिएको छ। प्रदेश २ को सप्तरीमा १ जनामा मात्र कोरोना भेटिएको छ।

 

बागमती प्रदेशको काठमाडौंमा मात्र १ सय ७ जनामा कोरोना पुष्टि भएको छ। काभ्रेमा २, चितवनमा १५, दोलखामा १, धादिङमा २, नुवाकोटमा २, भक्तपुरमा ६, मकवानपुरमा १, रसुवामा १ र ललितपुरमा १० जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ।

 

पछिल्लो २४ घण्टामा गरिएको परीक्षणमा गण्डकी प्रदेशको कास्कीमा १२, गोरखामा २, तनहुँमा ४, नवलपरासीमा पूर्वमा २, पर्वतमा १, लमजुङमा १, बागलुङमा १ र स्याङजामा १ जनामा कोरोना पुष्टि भएको छ।

 

लुम्बिनी प्रदेशको अर्घाखाँचीमा ३, गुल्मीमा २, दाङमा १, नलवपरासीमा २, पाल्पामा ७, बाँकेमा ५ र रुपन्देहीमा १० जनामा कोरोना पाइएको छ।

पछिल्लो २४ घण्टामा कर्णाली प्रदेशको जुम्लामा १ र सुदूरपश्चिम प्रदेशको बझाङमा ५ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ।