मेलम्चीको पानी काठमाडौंमा चाँडै पथान्तरण हुने

काठमाडौं,माघ २१। मेलम्ची खानेपानी आयोजनाको मुख्य सुरुङको पुनः परीक्षण सम्पन्न भएपछि अब मेलम्चीको पानी चाँडै नै काठमाडौंमा पथान्तरण हुने भएको छ ।

 

गत असार ३० गते परीक्षणका क्रममा सुरुङ मार्गको अम्बाथानस्थित अडिट टनेलको १७ नम्बर गेट खुलेर दुर्घटना भएको थियो । जुन दुर्घटना पानी पथान्तरण गरिएको १० मिनेटमा नै भएको र जसमा दुई जनाले ज्यानसमेत गुमाउनुपरेको थियो।

 

मेलम्ची खानेपानी आयोजनाले आगामी फेब्रुअरीभित्र मेलम्ची खोलो सुरुङमा छिराएर यसको पथान्तरण गरिने बताएको छ ।

 

त्यसका लागि करिब २७ किलोमिटर सुरुङमार्गका चार अडिट टनेल अम्बाथान, ग्याल्थुम, सिन्धु र सुन्दरीजलमा रहेका चारवटा गेट पुनः जडान कार्य भइरहेको छ ।

 

पानी पथान्तरणका लागि सुरुङ भरिन २० दिन लाग्ने र भरिएको पानीलाई १० दिनभित्र होल्ड गरेर फेरि दुई साता लगाएर सुरुङ खाली गराउँदै परीक्षण पूरा गरिने मेलम्ची खानेपानी आयोजनाले जनाएको छ ।

 

गेट सच्याउने हेडवक्र्सको काम दु्रतगतिमा भइरहेको छ । हेडवक्र्सको ठेक्का सम्झौता गत डिसेम्बर अन्त्यसँगै सकिएको छ । तर पनि मेलम्चीको पानी काठमाडौं यहिले नै आउँछ भन्ने यकिन हुन सकेको छैन ।

काठमाडौं उपत्यकामा मेलम्ची पानी ल्याउने कुरा गर्दा जन्मिएको बालक अहिले यो देशको होनहार युवा बनिसकेको छ । मेलम्चीको पानी ल्याएर जनतालाई खुुवाउने धेरै पटक धेरै सरकारले ठोकुवा गरे ।

 

यसअघिका सरकारझैँ यो सरकारले पनि काठमाडौंमा पानी ल्याउन सक्ने हो वा नसक्ने हो, अझै भन्न सकिने स्थिति छैन । पानीको अभावमा अझै काठमाडौंका जनता काकाकुल जीवन बिताउन बाध्य भएका छन् ।

 

त्यसो त काठमाडौं उपत्यकाको खानेपानीको समस्या अहिलेको मात्र होइन । तर, आश्वासन खान पल्केका काठमाडौंका जनतालाई सन् २०२१ मा पानी काठमाडौं आउला कि भन्ने झिनो आशाचाहिँ पलाएको छ ।

 

मेलम्चीको पानी सुन्दरीजल संकलन केन्द्रबाट वितरण गर्ने लक्ष्यसहित काम भए पनि मेलम्चीको प्रगतिमा आएको सुस्तता, पटके म्याद थप, ठेकेदार परिवर्तनका कारण मेलम्चीको पानी समयमा नै काठमाडौं ल्याउन नसकिएको देखिन्छ।

 

मेलम्ची खोलाको मुहानदेखि सुन्दरीजलसम्मको करिब २६ दशमलव २१ किलोमिटर सुरुङ निर्माण कार्य भने सकिएको छ।