हाम्रो आन्दोलन जनताको लागि हो,ओलीको आन्दोलन पञ्चर्‍याली हो : अध्यक्ष प्रचण्ड

काठमाडौ,माघ २२। नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ओली समूहका सभालाई ‘पञ्च र्‍याली’को संज्ञा दिएका छन् ।

 

नेकपा दाहाल–नेपाल समूहले गरेका आमहड्ताल सफल बनाउन सडकमा उत्रिएका अध्यक्ष दाहालले ओलीका सभा तथा शक्ति प्रदर्शनलाई ‘पञ्च र्‍यालीको संज्ञा दिएका हुन।

 

‘हामीले गरेको जनआन्दोलन हो र केपी ओलीले गरेको पञ्च र्‍याली । यो केपी ओली र प्रचण्डको व्यक्तिगत जुहारी होइन,’ अध्यक्ष प्रचण्डले, ‘संविधन मिचिएको हुनाले यसका विरुद्ध बाध्यताले हामी आमहड्तालमा उत्रिएका हौँ ।

 

उनले संविधानको रक्षाका लागि प्रतिपक्षी दल नेपाली कांग्रेसदेखि जसपासम्म सडक संघर्षमा रहेको बताउँदै यो ‘ओली–प्रचण्ड’को व्यक्तिगत जुहारी नभएको बताए ।

 

उनले भने, ‘यो लोकतन्त्र र लोकतन्त्र विरोधीबीचको लडाइँ हो, सम्भवतः फागुन पहिलो हप्तादेखि संयुक्त आन्दोलन हुन्छ र केपीलाई बढार्छ ।

 

उनले गणतन्त्र र संविधानको रक्षाका लागि आफूहरुको आन्दोलन अझ शसक्त हुने बताए । संवैधानिक अंग र भूमि आयोग असंवैधानिक ढंगबाट गठन गरेको वारेमा जानकारी दिन हामी सडकमा उत्रिन बाध्य भएको उनले बताए ।

 

उनले ओलीको असंवैधानिक कदमविरुद्ध कांग्रेस, जनता समाजवादी पार्टी र नागरिक समाजलगायतलाई मिलेर आन्दोलनमा उत्रिन समेत आग्रह गरे ।