आजबाट अस्पतालहरुको ओपीडी शुल्क वृद्धि ३७० देखि ८२५ सम्म

काठमाडौं,फागुन ५। अस्पतालहरुको बहिरंग विभाग ओपीडी मा सेवा दिने चिकित्सकहरुकोे परामर्श शुल्क वृद्धि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँगको सहमतिअनुसार नेपाल चिकित्सक संघ र एसोसिएसन अफ प्राइभेट हेल्थ इन्स्टिच्युसन नेपाल ९अफिनको० आज बसेको बैठकले शुल्क बढाउने निर्णय गरेको हो।

 

उक्त बैठकले नेपाल राष्ट्र बैंकको मुद्रा स्फीति तथा शुल्क परामर्श समितिले गरेको सिफारिसको आधारमा चिकित्सकको परामर्श शुल्क निर्धारण गरेको संघ र अपिनले जारी गरेको संयुक्त विज्ञप्तिमा उल्लेख छ ।

 

स्वास्थ्यमा क्रियाशिल ट्रेड युनियन तथा पेशागत संघसंगठनहरुको संयुक्त संघर्ष समितिसँग स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चिकित्सकहरुको परामर्श शुल्क ३० दिनभित्र लागू गर्ने प्रतिवद्धता जनाए पनि हालसम्म कार्यान्वयन नभएपछि संघ र अपिनको बैठक बसेर उक्त निर्णय गरिएको विज्ञप्तिमा उल्लेख छ ।

 

चिकित्सक परामर्श शुल्क प्रत्येक २ वर्षमा पुनरावलोकन हुने व्यवस्था सरकारले गरेको छ ।

 

एमबीबीएस र बीडीएस पास गरेर ५ वर्ष सेवा अनुभव नभएका चिकित्सकले ३७० र ५ वर्ष अनुभव भएपछि ४५० रुपैयाँ शुल्क बिरामी जाँचे बापत लिन पाउने छन् ।

 

यसैगरी डिप्लोमा गरेका तर ५ वर्ष सेवा अनुभव नभएकाले ५१५ रुपैयाँ र ५ वर्ष अनुभव भएकाले ५९० रुपैयाँसम्म लिन पाउने गरी शुल्क निर्धारण गरिएको विज्ञप्तिमा उल्लेख छ ।

 

यसैगरी एमडी र एमएस, एमडीएस गरेर ५ वर्ष अनुभव नभएका चिकित्सकको ६६० र ५ वर्ष अनुभव भएका चिकित्सकको ७००, डीएम र एमसीएच गरेर ५ वर्ष अनुभव भएका चिकित्सकको ७७० तथा डीएम र एमसीएच गरेर ५ वर्ष भन्दा बढी अनुभव भएका चिकित्सक र एमडी र एमएस र एमडीएस गरी १० वर्षभन्दा बढी अनुभव भएका चिकित्सकले समान ८२५ रुपैयाँसम्म लिन पाउने गरी शुल्क निर्धारण गरिएको छ।